आज देखि पोखरामा अन्तराष्ट्रिय खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता सुरु
पोखरा, फागुन १६- १४ औं अन्तराष्ट्रिय खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता बुधबारदेखि पोखरामा सुरु भएको छ । पोखरालाई अन्तराष्ट्रिय साहसिक पर्यटन गन्तव्यका रुपमा विकसित गर्ने उद्देश्यले नेपाल हवाई खेलकुद संस्थाले प्रतियोगिता आयोजना गरेको हो ।
बुधबार पहिलो दिन सहभागीहरुले औपचारिक उडान मात्रै गर्ने र बिहीबारदेखि प्रतियोगितात्मक उडान हुने नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष राजेश बम्जनले बताए । फागुन २१ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न २५ देशका १ सय ५० भन्दा बढी पाइलटहरु सहभागी हुने अध्यक्ष बमजनको भनाइ छ ।
प्रतियोगिता सिरियल क्लास र स्पोर्टस् क्लास गरी दुई तहमा खेलाइने छ । प्रतियोगितामा नेपालका करिब ४० जना प्याराग्लाइडिङ पाइलटहरुले सहभागिता जनाउने संस्थाका महासचिव सोभित बानियाँले बताए ।
प्रतियोगितामा सिरियल क्लासतर्फ पहिलो हुनेले ३० हजार रुपैंयाँ पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्पोर्टस् क्लासतर्फ पहिलो हुनेले १५, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।