दाङमा आठ पत्रकार चुनावी मैदान

दाङमा आठ पत्रकार चुनावी मैदान

कपन अनलाइन 

तुलसीपुर (दाङ), ७ असार । स्थानीय तहको निर्वाचनमा दाङबाट आठ जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका पत्रकारमा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा देशभक्त गणतान्त्रिक पार्टीबाट सुशीला आचार्य र लमही नगरपालिकाको उपप्रमुख पदमा निमबहादुर थापा चुनावी मैदानमा हुनुहुन्छ । आचार्य र थापा पत्रकार महासङ्घ दाङका केन्द्रीय पार्षद् हुनुहुन्छ ।

त्यसैगरी, न्युज २४ टेलिभिजनमा कार्यरत सुरेश श्रेष्ठ तुलसीपुर उपमहानगरपालिकाको वडा नं ५ को वडा सदस्यमा नेपाली काँग्रेसबाट चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

नेपाली काँग्रेसबाट तुलसीपुर उपमहानगरपालिका वडा नं ११ को वडा सदस्यमा रेडियो सञ्जीवनीमा कार्यरत सुवास डिसी, काँग्रेसबाट दङगीशरण गाउँपालिका वडा नं ३ को सदस्यमा रेडियो तुलसीपुरमा कार्यरत प्रकाश डाँगी, काँग्रेसबाटै घोराही उपमहानगरपालिकाको वडा नं १६ को महिला सदस्यमा राप्ती समाचार दैनिकमा कार्यरत सपना बोहरा पनि चुनावी मैदानमा उत्रिनु भएको छ ।

त्यसैगरी, नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको वडा नं ९ को वडा अध्यक्षमा रेडियो प्रकृतिमा कार्यरत संगीत बस्याल र एमालेबाट तुलसीपुर उपमहानगरपालिका वडा न ६ को वडा सदस्यमा रेडियो प्रकृतिमा कार्यरत दुजमान भण्डारी चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

चुनावी मैदानमा उत्रिएका अधिकांशले सक्रिय रुपमा पत्रकारिता गरिरहनुभएको छ । अहिलेसम्म सुवास डिसी र संगीत बस्यालले मात्रै विधिवत् रुपमा पत्रकारिता छाडेको जानकारी गराउनुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।