राससलाई सूचना प्रविधिसँग जोड्न निर्देशन

कपन अनलाइन 

काठमाडौँ, ७ असार । सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुलुकको एक मात्र आधिकारिक, विश्वसनीय र भरपर्दाे समाचार समिति राष्ट्रिय समाचार समिति (रासस)लाई बदलिँदो सूचना प्रविधिसँग जोडी अझ चुस्त बनाउन निर्देशन दिनुभएको छ ।

भद्रकालीस्थित राससको केन्द्रीय कार्यालयको आज निरीक्षण गर्ने क्रममा सचिव गुरुङले राससले जति धेरै आधुनिक सूचना प्रविधिको प्रयोग गर्छ त्यति नै आमसञ्चारमाध्यमले छिटोभन्दा छिटो राससका समाचार सेवालाई उपयोग गर्न सक्छन् भन्नुभयो ।

सचिव गुरुङले भन्नुभयो “राससको मुख्य काम नै समाचार सङ्कलन, सम्पादन र सम्प्रेषण गर्नु हो, यी कामलाई आवश्यक पर्ने भौतिक, आर्थिक एवम् प्रविधिसित सम्बन्धित थप सहयोग मन्त्रालयले गर्ने छ ।”

राससले सङ्कलन, सम्पादन तथा सम्प्रेषण गर्ने समाचार बढीभन्दा आमसञ्चारमाध्यमले धेरै उपयोग गर्नसक्ने बनाउन निर्देशन दिँदै सचिव गुरुङले आमसञ्चारमाध्यमले जति बढी यसका समाचार उपयोग गर्छन् यति नै यसको उपयोगिता बढ्छ भन्नुभयो ।

सचिव गुरुङले राससबाट सम्प्रेषण भएका समाचारको अनधिकृत प्रयोगलाई रोक्न मन्त्रालयले प्राविधिक एवम् कानुनी व्यवस्थापन गर्न राससलाई आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राससबाट सम्प्रेषण भएका समाचारको अनधिकृत प्रयोगलाई रोक्न विधि र प्रविधिको आवश्यकता रहेकामा जोड दिनुभयो । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्न रासस प्रतिबद्ध रहेको बताउनुभयो ।

सो अवसरमा रासस सञ्चालक समितिका सदस्य दयाराम दाहाल, डिल्लीराम भट्टराई र नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली एवम् विभागीय प्रमुखको समेत सहभागिता थियो । रासस

तपाइँको प्रतिक्रिया ।