खानेपानी र विद्युत्् दिनेलाइ मतदान ः बूढीनन्दावासी

कपन अनलाइन 

(प्रेम रौले)

बाजुरा, ७ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बूढीनन्दा नगरपालिकाका मतदाताले जनताको समस्यालाई अन्त्य गर्नेलाई मत दिने बताएका छन् । बूढीनन्दा नगरपालिकामा रहेको साबिकको कोल्टी गाविसमा खानेपानी समस्या र विद्युत् र सञ्चारको समस्या रहेको छ ।

यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा खानेपानी विद्युत् र सञ्चार दिनेलाई मात्र भोट दिने बूढीनन्दा नगरपालिकाका छक्क मल्लले बताउनु भएको छ । उहाँले कोल्टी बजार जिल्लाको दोस्रो व्यापारिक केन्द्र भएका कारण बजारका स्थानीयवासीले एक घन्टा टाढाको खानेपानी पिठ्यूँमा बोकेर खानुपर्ने बाध्यता रहेको बताउनुभएको छ ।

बूढीनन्दा नगरपालिकाका रहेका १० वटै वडामा खानेपानी र विद्युत्को समस्या भएकाले जनताका माग पूरा गर्नेलाई मात्र मतदान गर्ने बूढीनन्दा–७ की निरा बोहराले बताउनुभएको छ । जिल्ला र जिल्ला बाहिरको खबर आदान प्रदान गर्नका लागि टेलिफोन सुविधा नभएका कारण बिहानको घाम कुर्नुपर्ने बाध्यताले स्थानीयवासी मारमा परेको उहाँको भनाइ रहेको छ ।

बूढीनन्दा नगरपालिका अझै सडकको पहुँचभन्दा टाढा रहेको छ । विकट नगरपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, विद्युत् र खानेपानी आधारभूत आवश्यकता भएकाले यी जनताका मागलाई सम्बोधन गर्ने उम्मेदवारलाई मात्र जनताले मत दिने बोहराले बताउनुभयो ।

बूढीनन्दा नगरपालिकाका नगरवासीको मुख्य समस्या भनेको नै विद्युत् र खानेपानी रहेको छ । खानेपानी नहँुदा कतिपय वडाका स्थानीयवासी खोलाको पानी खान बाध्य भएका छन् । खानेपानी र विद्युत्का कारण स्थानीयवासीले हैरानी खेप्नु परेको छ ।

नगरपालिकामा नै खानेपानी विद्युत् नहँुदा स्थानीयवासीले मत माग्न आउनेलाई यी दुवै माग पूरा गरेमात्र मत दिने प्रतिक्रिया दिएको स्थानीयवासीले राससलाई बताएका छन् ।

नगरपालिका प्रमुख र उपप्रमुखहरु मत माग्न प्रत्येकको घरदैलोमा आएपनि सबै हामी मतदाताको माग भनेको नै खानेपानी र विद्युत् भएको गोकर्ण देवकोटाको भनाइ रहेको छ । देवकोटाले मार्तडी–कोल्टी सडक निर्माण भएको लामो समय बितिसक्दा पनि अझै नगरवासीले सहजरुपमा यात्रा गर्न नपाउने भएकाले सडकलाई प्राथमिकता दिने उम्मेदवारलाई मात्र मत दिने बताउनुभयो ।

नगरको विकास गर्न खानेपानी, स्वास्थ्य, शिक्षा, सडक विद्युत्, सञ्चार लगायतका विकास निर्माणका कार्य आफ्नो पहिलो काम भएको नेपाली काँग्रेस बूढीनन्दा नगरपालिकाका प्रमुख पदका प्रत्याशी पदमकुमार गिरीले बताउनुभयो । उहाँले जनताका आधारभूत आवशयकतालाई पूरा गर्ने बताउनुभयो ।

एमालेका नगर प्रमुखका प्रत्याशी जनककुमार बोहराले आफ्नो समृद्ध बूढीनन्दा नगरपालिका बनाउने योजना रहेकाले ढुक्क भएर आफूलाई मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का भरत विकले दलित, पिछडिएका र विपन्नका लागि लाग्ने पार्टी माओवादी केन्द्र भएकाले हँसिया हतौडामा मतदान गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ ।

मत दिएपनि माग अनुसारको विकास नहुने हो कि भन्नेमा मतदाता चिन्तामा रहेका छन् । पहिले मत माग्ने र पछि बेवास्ता गर्ने प्रवृत्तिले गर्दा सर्त पूरा गर्ने कबुल गरेर मात्र मत दिने बूढीनन्दा नगरपालिकाका मतदाताको भनाइ छ । रासस

तपाइँको प्रतिक्रिया ।