ओली सरकार समयमा भएका सम्झौता कार्यान्वयन गर्ने सहमति

(अपडेटसहित)

कपन अनलाइन 

काठमाडौँ, ६ असार

 नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठकमा केपी ओली सरकारका समयमा भएका सम्झौता कार्यान्वनमा लैजाने सहमति भएको छ ।

काठमाडौंमा मंगलबार बसेको नेपाल–चीन परामर्श संयन्त्र बैठकले केपी ओली नेतृत्वको सरकारको पालामा भएका पारबहन तथा यातायातलगायतका सम्झौंता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड दिएको हो ।

नेपाल–चीन परामर्श संयन्त्रको बैठक विगत चार वर्षदेखि स्थगित हुँदै आएको थियो । बैठकमा नेपाली पक्षले ‘वान बेल्ट वान रोड’ सम्बन्धि चिनियाँ प्रस्तावलाई अघि बढाउने पुनः प्रतिवद्धता समेत जनाएको थियो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी र चिनियाँ पक्षको नेतृत्व सहायक विदेशमन्त्री कोङ सोन्यूले गरेका थिए । चीनले नेपालको आर्थिक विकासमा आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यता, नेपाली पक्षले नेपालको भूमिका चीन विरोधि गतिविधि नहुन नदिने प्रतिवद्धता पनि दोहो¥याएको थियो ।

बैठकमा दुवै मुलुकका परराष्ट्र सचिव नेतृत्वको उक्त छलफलमा नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तारबारे परामर्श भएको थियो भने  दुवै पक्षले पर्यटन प्रवद्र्धन, सामाजिक तथा सांस्कृतिक आदानप्रदान, दुई देशबीच सुमधुर सम्बन्ध स्थापना गर्दै पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य गर्न स्थापना भएका द्विपक्षीय संयन्त्रका बैठक नियमित रुपमा आयोजना गर्नेबारेमा पनि छलफल भएको छ ।

 

नेपाल–चीन परामर्श संयन्त्रको १० औँ बैठक सन् २०१३ अगस्तमा चीनको राजधानी बेइजिङमा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।