साहित्यले टुट्नबाट रोकेर जुट्न प्रेरित गर्छ

कपन अनलाइन 

सोलुखुम्बु, ३ असार । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले साहित्यले समाजलाई जहिले पनि टुट्नबाट जोगाएर जुटाउने बताउनुभएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठान र सगरमाथा प्रतिभा प्रतिष्ठानको संयुक्त आयोजनामा आज सल्लेरीमा भएको विचारगोष्ठी एवम् बृहत् कवि गोष्ठीमा बोल्दै उपकुलपति घिमिरेले समाजलाई एउटा मालामा गाँस्न साहित्य उपयुक्त हुने बताउनुभयो । उहाँले साहित्यकार कहिल्यै पनि अरुले बनाउन नसक्ने भन्दै घिमिरेले यसका लागि अथक मेहनत र त्याग आवश्यक रहेको बताउनुभयो ।

यसैगरी, कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्राज्ञ प्रा डा ज्ञानु पाण्डेले पछिल्लो दिनमा साहित्य पनि व्यावसायिक बन्दै गएको भन्दै अहिले साहित्यबाट पनि जीवनयापन सम्भव छ भन्ने कुरा सिद्ध हुन थालेको बताउनुभयो ।

कार्यक्रममा जिल्लामा रहेर शिक्षा तथा साहित्यको क्षेत्रमा काम गरिरहनुभएका उद्धवकुमार शर्मा, हेरम्बराज बास्तोला, तोया अधिकारी, शुभलक्ष्मी कोइरालालगायतले जिल्लाको साहित्यिक अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने करिब एक दर्जन कवि÷कवयित्रीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै आयोजक संस्था सगरमाथा प्रतिभा प्रतिष्ठानका अध्यक्ष डा रेनुका बस्नेतले जिल्लामा साहित्यको क्षेत्रमा अघिबढ्ने प्रेरणा प्रदान गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।