नेपाल यमनको खेल बराबरीमा टुङ्गियो
कपन अनलाइन
काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । यसअघि गत चैत महिनामा फिलिपिन्सिमा भएको समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलअन्तरले पराजित भएको थियो ।
नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क बाड्न बाध्य बन्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले प्रतियोगितामा जित हासिल गर्न नसकेपनि नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको टिप्पणी गर्नुभयो ।
त्यस्तै यमनका प्रशिक्षक इब्राहिम मेब्रातोलले खेलमा बराबरी खेल्नु ठीकै भएको प्रतिक्रिया दिनुभयो । प्रतियोगितामा नेपालका गोल किपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।
समूह एफमा रहेको नेपालले समूह चरणको तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । नेपाल एक अङ्कसहित लिगको तेस्रो स्थानमा छ । त्यसैगरी यमन चार अङ्क जोड्दै समूहको शीर्ष स्थान उक्लेको छ । फिलिपिन्स भने तीन अङ्कसहित दोस्रो स्थानमा छ । अङ्कविहीन रहेको ताजकिस्तान अन्तिम स्थानमा छ । रासस