दुई पत्रकार सम्मानित
कपन अनलाइन
काठमाडौँ, २९ जेठ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले विनाशकारी भूकम्पका समयमा साहसपूर्ण काम गरेबापत दुई पत्रकारलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ ।
उपराष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पका बेलामा घाइते भएका र उद्धारमा खटिएका व्यक्तिलाई समेटेर बनाइएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ का निर्माता–निर्देशक गणेश पाण्डे र फोटो पत्रकार अमूल थापालाई सम्मान गर्नुभयो । दुई वर्षअघि भूकम्पमा परी घाइते हुनुभएका बाँके निवासी अच्युतराज सुवेदीको उपचारका क्रममा भारतको नयाँदिल्लीमा आजैका दिन निधन भएको थियो ।
सो अवसरमा उपराष्ट्रपति पुनले भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ भइरहेकाले । सरकारले चाँडोभन्दा चाँडो यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भूकम्पले सिकाएको पाठ अझै सिक्न नसकिएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष तथा स्व अच्युतका पिता प्रकाश सुवेदीले भूकम्पका समयमा विभिन्न माध्यमबाट उद्धार र सहयोगमा खटिने सबैलाई धन्यवाद दिनुभयो ।
गत वर्ष स्थापित प्रतिष्ठानले विभिन्न क्षेत्रमा राम्रो काम गर्ने युवालाई प्रोत्साहनस्वरुप सम्मान गर्ने लक्ष्य राखेको प्रतिष्ठानका संरक्षक पूर्वउपसभामुख तथा स्व सुवेदीकी आमा पूर्णकुमारी सुवेदीले बताउनुभयो । सञ्चारकर्मी अच्युतराजले केही दैनिक पत्रिकामा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्नुभएको थियो । रासस