राजधानीबाहिर पहिलोपटक विज्ञान समाचार लेखन तालिम

कपन अनलाइन 

रत्ननगर (चितवन), २४ जेठ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को आयोजनामा राजधानीबाहिर पहिलो पटक चितवनमा मंगलबारदेखि पत्रकारका लागि विज्ञान समाचार लेखन तालिम सुरु गरिएको छ ।

विज्ञान र प्रविधिसम्बन्धी समाचार लेखन र प्राविधिक शब्दको आवश्यक ज्ञान दिँदै सूचना सामग्री विज्ञान सम्बद्ध छ कि छैन भनेर पहिचान दिने लक्ष्यसहित चितवनका पत्रकारका लागि मङगलबारदेखि तीनदिने विज्ञान लेखन तालिम सुरु भएको हो ।

विसं २०४२ मा प्रतिष्ठान स्थापना भए पनि अहिलेसम्म यस्ताखाले तालिम राजधानीमा मात्रै सीमित हुँदै आएकामा विज्ञान र प्रविधिको तथ्यपूर्ण सूचनाको प्रयोगलाई बढाउन राजधानीबाहिर पहिलो पटक चितवनबाट तालिमको सुरुआत गरिएको प्रतिष्ठानका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख रमिला राउतले जानकारी दिनुभयो ।

विज्ञान लेखन अरू लेखनभन्दा फरक रहेको बताउँदै प्रमुख राउतले शब्दसमेत बुझ्नुपर्ने हुँदा प्राविधिक कुराको ज्ञान हुनु आवश्यक भएकाले पत्रकारका लागि तालिम दिइएको बताउनुभयो ।

उद्घाटन क्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले विज्ञान र प्रविधिसँग जोडेर लेखिने समाचारका प्राविधिक शब्द पहिचान गर्दै क्षमता बढाउन तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यगरी तालिमबाट कुनै सामग्री विज्ञानसम्मत छ कि छैन, तथ्यपूर्ण सूचना सङ्कलन भयो या भएन भनेर पहिचान गर्दै अवैज्ञानिक लेखनबाट मुक्ति दिलाउने उद्देश्यले तालिमको आयोजना गरिएको प्रशिक्षक केदार शर्माले जानकारी दिनुभयो । उहाँले अपुरो सूचनाका कारण पनि समस्या हुने भन्दै शब्द चयन र प्रस्तुतिमा ख्याल गर्नु आवश्यक हुने बताउनुभयो ।

कार्यक्रमका अर्का प्रशिक्षक तथा प्राध्यापक जीवन रेग्मीले विज्ञान र प्रविधिका विषयवस्तु र यसमा प्रयोग हुने शब्द तथा समाचारमा पु¥याउने प्रभावका बारेमा जानकारी दिनुभयो । तालिममा चितवनका विभिन्न संचारमाध्यमका २० भन्दा बढी पत्रकारको सहभागिता छ । रासस

तपाइँको प्रतिक्रिया ।