विश्व दुग्ध दिवस

 

कपन अनलाइन 

भद्रपुर, १८ जेठ । मानव जीवनको सर्वोत्कृष्ट आहार दुग्धको व्यावसायिक उत्पादन बढाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । विश्व दुग्ध दिवसका अवसरमा महारानी साना किसान सहकारी संस्था लिमिटेड, झापाले महारानीझोडामा आज आयोजना गरेको कार्यक्रमका सहभागीहरुले सो जोड दिएको हो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गाईलाई घाँस खुवाएर सो कार्यक्रमको उद्घाटन गर्दै मानव जीवनको सर्वोत्कृष्ट आहार दुग्धको उत्पादन बढाउनुको विकल्प नरहेको बताउनुभयो ।

मानव जीवनमा पहिलो आहारका रुपमा रहेको दुग्धको अब व्यावसायिक उत्पादन हुनुपर्ने, एकजनालाई वार्षिक रुपमा ९० लिटर दुग्ध आवश्यक पर्ने तर अहिले जनही ६४ लिटर दुग्धमात्र उपलब्ध हुने गरेको र झापामा वार्षिक ९३ हजार नौ मेट्रिक टन दुग्ध उत्पादन भइरहेकामा यसवर्ष ३ दशमलव ८ प्रतिशत उत्पादन बढेको जिल्ला पशुसेवा कार्यालय, भद्रपुरका चिकित्सक कुमारसिंह खत्रीले जानकारी दिनुभयो ।

पूर्वाञ्चल क्षेत्रीय पशु निर्देशनालय विराटनगरका निर्देशक डा तेजबहादुर रिजालले दुग्धको उत्पादनसँगै गुणस्तर र मूल्यमा पनि किसानले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महारानी साना किसान सहकारी संस्था लिमिटेडकी अध्यक्ष मीना ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय भद्रपुरका वरिष्ठ पशु चिकित्सक डा माधव दाहाल तथा सहकारीकर्मीद्वय बेदनिधि चापागार्इं र श्याम मिश्रलगायतले दूधको उत्पादन बढाउनेतर्फ जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।