सबैसँग सहकार्य गरेर काठमाडौंको विकास गर्छु : नवनिर्वाचित मेयर शाक्य

कपन अनलाइन 

 काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले सवैसँग मिलेर काठमाडौं महानगरको विकास गर्ने वताएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आइतबार बिहान शाक्यलाई काठमाडौं महानगरको मेयरमा निर्वाचित भएको घोषणा गरे लगत्तै पत्रकाहरुसँग कुरा गर्दै उनले आफू एमालेको तर्फबाट उम्मेदवारी दिएर निर्वाचित भए पनि अव काठमाडौंवासी सबैको मेयर भएकाले काममा पार्टीगत पक्षपात नगर्ने वताए ।

‘म एमालेको तर्फबाट उम्मेदवार बनेर काठमाडौं महानगरको मेयर निर्वाचित भएँ, अव सबैको मेयर  हुँ’ शाक्यले भने, ‘काठमाडौंलाई सुन्दर बनाउन सबैको साथ लिएर अघि बढ्छु । कांग्रेस, विवेकशील पार्टी र साझा पार्टीका साथीहरुलाई पनि साथै लिएर काम गर्छु ।’

उनले उपमेयरमा राप्रपासँग तालमेल गरे पनि जिताउन नसकेकोमा खिन्नता ब्यक्त गरे । ‘हामीले राप्रपालाई उपमेयरमा जिताउन चाहेका थियौं तर, सकेनौं’ उनले भने, ‘काम गर्दा हार्ने जित्ने सबैसँग सहकार्य गरेर अघि बढ्छौं, हामीले नै काठमाडौंलाई नयाँ बनाउनु छ ।’

उपमेयरमा निर्वाचित कांग्रेस उमेदवार हरिप्रभा खड्गीले पनि कांग्रेस र एमाले मिलेर महानगरको विकासमा लाग्ने बताइन् । उनले काठमाडौंलाई धुवाँ र धुलो मुक्त गर्न आजैदेखि लाग्ने वताइन् । ‘काठमाडौंलाई धुवाँ र धुलो मुक्त गर्न कांग्रेस र एमाले मिलेर आजैदेखि लाग्छौं’ उनले भनिन् ।

तपाइँको प्रतिक्रिया ।