मुसहर बस्तीको चुहिएको जस्ता फेर्ने भगन्तियाको पहिलो इच्छा
कपन अनलाइन
रत्ननगर (चितवन), ११ जेठ । “पहिले काम मुसहर बस्तीको घरमा जस्ता कुहियो, पानी चुहियो त्यो फेर्छु, अनि अरू काम”, चितवनको रत्ननगरमा शपथ लिने क्रममा भगन्तियाले भनिन् ।
शपथ लिन उनी रातो साडी र रातै ब्लाउमा सजिएकी थिइन् । देख्ने बित्तिकै हँसिलो अनुहारबाट मीठो मुस्कान दिइन् । “चिन्नु भो ? के त अस्ति हाम्रो घरमा आ‘को पत्रकार हैन”, हाँस्दै भगन्तियाले भनिन् । वैशाख २१ गते उनको घरमा पुग्दा भर्खरै गाउँमा मत मागेर आइपुगेकी थिइन् । थकित देखिन्थिन् । तर त्यो थकान उनले जितसँगै भुलेझैँ देखिन्थ्यो ।
निर्वाचन अधिकृत गीता गुरुङबाट पाएको प्रमाणपत्र उनको हातमा थियो, निधारमा रातो टीका टलक्क टल्किएको थियो । “जित्नु भो, अब के गर्नुहुन्छ त ?” मङ्गलबार शपथ लिने तयारीमा रहेकी उनले अगाडि थपिन्, “जस्ता फेरेपछि गाउँमा एउटा शौचालय नबनाई भा छैन । गाउँलेको घरमा झ्याल, ढोका छैन, त्यो पनि फेर्नुछ, अनि मात्रै गाउँको सडक र अरू काम गर्ने हो ।” उनले आफ्नो गाउँ साँँघुरो भएकाले पल्लो पट्टी बस्तीमा सार्ने योजना पनि रहेको सुनाइन् ।
पहिले मुसहर भनेर हेप्नेको पनि नेता भएकोमा उनी खुसी थिइन् । रत्ननगर नगरपालिका–७ मा उनी दलित महिला सदस्यमा जितिन् । वडा नं ८ मा उठेकी बास्मती माझी मुसहरले हारेपछि उनी जित्नेमा एक्ली मुसहर हुन् । अब जनताको काम गर्न पाएकाले खुसी भएकी उनी राम्रो गरेर देखाउने बताउँछिन् । सबैको साथ पाएर जितेकोमा उनले धन्यवाद दिँदै भनिन्, “अब म मुसहरको मात्रै होइन सबैको मान्छे ।”
साबिक बछौली गाविस–७ मालपुरमै जन्मिएकी भगन्तिया अहिले ४३ वर्षकी भइन् । तीन सन्तानकी आमा उनी गाउँकी सामाजिक अगुवा हुन् । श्रीमान वीरझन मुसहर (माझी) सवारी चलाउँछन् । दुई छोरीको बिहे भयो भने छोरा विसुना माझी पनि चालक भइसके । १८ वर्षको उमेरमा बिहे भएको थियो । उनले एउटै कोठामा सपरिवार बस्ने अवस्थाको अन्त्य गर्ने सोच राखेको समेत उल्लेख गरिन् ।
यस्तो छ भगन्तियाको मत
यसपालि पहिलो पटक रत्ननगरमा दुईजना मुसहर चुनावी मैदानमा थिए । रत्ननगर–८ को वडा सदस्य दलित महिलाबाट बास्मती मुसहर र रत्ननगर–७ बाट दलित महिला वडा सदस्यमा भगन्तिया मुसहर (माझी) चुनावी मैदानमा थिए । गत वैशाख ३१ भएको स्थानीय तहको चुनावी परिणाममा भगन्तियाले जितिन् ।
बास्मती माओवादी केन्द्रबाट र भगन्तिया काँग्रेसबाट उठेकी थिइन् । उनीहरुले जिते पनि विकास गर्ने र नजिते पनि विकासै गर्ने योजना बनाएका थिए । तर बास्मतीले हारिन् । भगन्तियाले ८२७ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी माइली सुनारले ७१० मत ल्याइन् ।
बास्मती तीन ठूला दलमध्ये तेस्रोमा परेर हारिन् । उनले १४० मत ल्याउँदा एमालेकी कुमारी विकले ८३१ मतका साथमा विजयी भइन् । प्रतिद्वन्द्वीका रुपमा काँग्रेसकी दुर्गाकुमारी विकले ५४६ मत ल्याइन् । रासस