कपनमा फोहोर मैला व्यवस्थापन तालिम हुने

काठमाडौ, पुस १३ -‘ हाम्रो कपन, राम्रो कपन’ भन्ने नाराका साथ कपन गा.वि.स. र कपनमा कृयाशिल रहेका सामाजिक संस्थाहरुले संयुक्त रुपमा फोहोर मैला व्यवस्थापन तालिम आयोजना गर्ने भएका छन् ।

कपन गा.वि.स. भए पनि तीब्र सहरीकरणका कारण बढेको घनाबस्तीबाट निस्कने फोहोर मैलालाई व्यवस्थापन गर्न नसक्दा आज भोलि यस गा.वि.स. को प्राकृतिक वातावरण दिन प्रतिदिन दुर्गन्धीत बन्दै गएको छ । कार्यक्रम आयोजक संस्था मध्येका एक बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाका अनुसार कार्यक्रममा फोहोर के हो ? फोहोरबाट मोहर कसरी बनाउन सकिन्छ र यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? भन्ने विषय बस्तुमा केन्द्रित रहने बताए । तालिम कार्यक्रम लक्षित समुहहरुलाई विभाजन गरि तीन चरणमा लागु गरिने जनाइएको छ । जसमा प्रथम चरणमा गृहणी, दोस्रो चरणमा महिला समूह र तेस्रो चरणमा सरकारी गैरसरकारी संस्था र निजी संस्थाहरुलाई सहभागी गराई तालिम प्रदान गरिनेछ ।

यसै कार्यक्रमलाई लक्षित गरि २०६९ पौष १४ गते शनिबारका दिन विहान १० बजे साम्बला भिलेज रिसोर्ट, कपन–१ मा विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानिय व्यक्तित्वहरु सहित भेला कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । यो कार्यक्रम कपन गा.वि.स., को अगुवाईमा कपनमा चिनिएका बाल अपाङ्ग टेवा संस्था, समाजको आवाज, कपन महिला छाता समुह लगायतका संघ संस्थाहरुको आवद्धता रहेको विज्ञप्तीमा जनाइएको छ । ढिलै भए पनि यस खालको कार्यले कपनको मुहार फेर्ने र यहाँको वातावरण पहिले जस्तै स्वच्छ र हराभरा रहने अपेक्षा लिइएको छ ।

तपाइँको प्रतिक्रिया ।