केबल कार सञ्चालनदेखि एक घर एक धारासम्म एमाले बुनपाको प्रतिबद्धता पत्र

कपनअनलाइन, वैशाख २६
आसन्न वैशाख ३१ गतेको स्थानीय निर्वाचन आउन केही दिन मात्रै बाँकी रहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका भित्र पनि राजनीतिक पार्टीहरुका चुनावी गतिविधि तीब्र भएका छन् । विभिन्न राजनीतिक दलहरुले मतदातालाई प्रभावित पार्नका लागि आ–आफ्ना प्रतिबद्धता पत्र जारी गरेका छन् । यसैबीच बुढानिलकण्ठ नगरपालिकाले चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
यस्तो छ बुढानिलकण्ठ एमालेको घोषणा पत्र  ः
एमालेले बुढानिलकण्ठ नगरपालिकको घोषणा पत्रमा पार्टी केन्द्रले जारी गरेको प्रबिद्धता पत्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउँदै नगर कमिटिले आफ्नो घोषणा पत्रमा नगरपालिका भित्रका महिलाका निम्ति सिप विकासका कार्यक्रम, तालिम, चेतनामूलक कार्यक्रम आदि सञ्चालन गर्ने जनाएको छ । एमालेले नगरभित्र निर्माण र स्तरोन्नति भइरहेका सडकहरुको निर्माण कार्य अविलम्ब सम्पन्न गरी नगरलाई धुलो र हिलोमुक्त पार्ने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।


नगरभित्र चक्रपथ निर्माण
बुढानिलकण्ठ नगरभित्र स्तरीय चक्रपथ निर्माणको महत्वकांक्षी योजना एमालेले अगाडि सारेको छ । नगरभित्रका सबै सडकहरुको स्तोरन्नति गरी दिगो सडक सञ्जालको विकास गर्ने र सडक पेटीलाई अपाङ्गमैत्री बनाइने पनि एमालेले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।
सडक बत्ती र सिसि क्यामेरा
सडक पोलमा सडक बत्ती र सिसि क्यामेरा जडान गरी सम्भावित अपराध र अनुशासन उल्लङ्घनका घटनालाई नियन्त्रण गर्ने लक्ष्य पनि बुढानिलकण्ठ एमालेले लिएको छ । त्यसैगरी एमालेले हरेक सडक र चोकमा सूचना र सडक प्रयोगसम्बन्धी निर्देशन बोर्डको व्यवस्था गर्ने आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।

स्वच्छ खानेपानीको व्यवस्था
खानेपानीका लागि विभिन्न स्रोतको व्यवस्थापन र परिचालन गर्ने भन्दै उसले नारा तय गरेको छ । ‘एमालेको नारा ः एक घर एक खानेपानीको धारा’ भन्ने नारा तय गरेको छ । ढल निकासका बारेमा योजनाबद्ध ढलनिकासको व्यवस्था गर्ने एमाले बुढानिलकण्ठले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।
नगर अस्पताल सञ्चालन
नगरपालिकामा ५० सैइयाको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने पनि एमालेले आफ्नो घोषणा पत्रमा जनाएको छ । नगरवासीको अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गर्दै जटिल प्रकारका रोगको स्वास्थ्य परीक्षण निशुल्क रुपमा गर्ने उसले जनाएको छ ।
वातावरण मैत्री विकास निर्माण तथा फोहर व्यवस्थापन
नगर क्षेत्रमा रहेका नदीनालाको दुवै तिर कोरिडर निर्माणदेखि दुवैतिर वृक्षारोपण गरी हरित उद्यान निर्माण गर्ने विषय पनि एमालेको घोषणा पत्रमा समावेश गरिएको छ ।
फोहर व्यवस्थापन गर्दै जैविक ऊर्जा र प्राङ्गारिक मल उत्पादन गर्नेदेखि सार्वजनिक शौचालयसम्मको व्यवस्था गर्ने बुढालिकण्ठ एमालेले घोषणा पत्रमा उल्लेख गरेको छ ।


इन्टरनेट, पार्क र शिक्षासम्बन्धी विषय
नगरका विशेष क्षेत्रमा वाईफाई सुविधासहितको हरित उद्यान, बालउद्यान, ज्येष्ठ नागरिक विश्राम स्थल र जिम हाउस सञ्चालन गर्ने पनि एमालेले जनाएकोे छ । टोलटोलमा शिशु तथा बालबालिकाका लागि शिशुस्याहार र बालविकास केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता पनि एमालेले गरेको छ । निशुल्क शिक्षालाई प्रोत्साहन गर्दै नगरपालिकाको कुल बजेटमा कम्तीमा २० प्रतिशत शिक्षामा खर्च गर्ने प्रतिबद्धता पनि एमालेले गरेको छ । प्राविधिक विद्यालय स्थापना र सञ्चालन लगायत नगरभित्र रहेका क्याम्पसका विषयमा पनि उसले बोलेको छ ।

पहिचानको कदर
नगरपालिका भित्र रहेका विभिन्न जातजाति भाषा धर्मको विशेषता संरक्षण हुने गरी साँस्कृतिक संग्राहलयको स्थापना गर्ने प्रतिबद्धता पनि एमालेले गरेको छ ।
केबलकार देखि सार्वजनिक यातायातको व्यवस्था
नगरभित्र सार्वजनिक नगर यातायत सञ्चालन गर्ने र बुढानिलकण्ठदेखि शिवपुरी डाँडासम्म केबलकार सञ्चालन गर्ने प्रतिबद्धता पनि एमालेले गरेको छ । त्यसैगरी शिवपुरीमा भ्यु टावरको निर्माणको परिकल्पना र पर्यटन विकासका लागि नगरभित्रका मनोरम क्षेत्रलाई प्रचार गर्ने पनि एमालेले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।


सुपथ मूल्य पसल र स्वतन्त्र सञ्चार गृह र पुस्तकालय
टोलटोलमा सुपथ मूल्य पसल र स्मार्ट बजारको परिकल्पना पनि गरिएको छ । एमालेले सुकुमवासीहरुको उचित व्यवस्थापन, नगरवासीलाई निशुल्क कानूनी परामर्श सेवा, एफएम लगायत स्वतन्त्र मिडिया हाउसको व्यवस्था, कृषिमा आधुनिकीकरण, कम्तीमा एक वडामा एउटा खेल मैदान, लाइब्रेरी, सार्वजनिक जग्गाको संरक्षण, पिकनिक तथा मनोरञ्जन पार्क स्थापनाको पनि प्रतिबद्धता गरेको छ ।
विपद् व्यवस्थापन कोष सञ्चालन गर्ने, शान्ति सुरक्षाका लागि नगर प्रहरीको स्थापना गर्ने र नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउँदै नगरपालिकाको कार्यालयमा सेवाग्राहीलाई सहयोग गर्न हेल्पडेस्कको व्यवस्था गर्ने र दिनमा होइन छिनमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि एमालेले गरेको छ ।

तपाइँको प्रतिक्रिया ।