जीत निश्चित गर्न घरघरमा पुग्न थाले दल र उम्मेदवारहरु
कपन अनलाइन, काठमाडौँ । वुनपामा मेयर तथा उपमेयर पदका दावेदारहरु नगरवासीको घरघरमा पुग्न थालेका छन् । हिजो मनोनयनपत्र दर्तासँगै आधिकारिक उम्मेदवार बनेपछि वुनपामा चुनावी वातावरण छाएको छ । टोलटोलमा झण्डा बोकेर हिँडेका स्थानीय नेता तथा कार्यकर्ताहरु भेटिन थालेका छन् भने । टिकट नपाएको झोकहरु सामाजिक सन्जालमा छाउन थालेको छ ।
वुनपामा नेपाली कांग्रेसले सबैले अनुमान गरेझैँ राजु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राजु श्रेष्ठ उम्मेदवार भए भने जित्ने भनेर पूर्वानुमान गरिँदै आएको थियो । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका श्रेष्ठले पछिल्लो एकवर्ष वुनपामा संगठन विस्तारमा समय बिताएका थिए । विकासका गतिबिधि तथा महाभुकम्पको बेलाका कृयाकलापले पनि उनी अन्य उम्मेदवारहरुको तुलनामा अगाडि हुन सक्ने अवस्थामा छन् । गत संबिधानसभा चुनावमा समानुपातिक उम्मेदवारका हैसियतमा वुनपामा घरघरमा पुगेर मत मागेको अनुभवले पनि उनलाई परिचित बनाउन सजिलो भएको छ । बुढानिलकण्ठ विकास समितिको सदस्य सचिव बनेको काम गरेको अनुभवले पनि उनी वुनपाका सबै क्षेत्रसँग परिचित र विकासको खाका भएको व्यक्तिका रुपमा चिनिन्छिन् ।
नेपाली कांग्रेसले वुनपाको उपमेयरमा सुभद्रा खड्कालाई उम्मेदवार बनाएको छ । खड्का साविक खड्का भद्रकाली गाविसकी हुन् । शिक्षण पेशामा लामो समयदेखि संलग्न बौद्धिक महिला नेतृ हुन् । नेपाली कांग्रेसमा ४ दशकदेखि सक्रिय खड्कालाई उपमेयरमा उम्मेदवारीले नेपाली कांग्रेस बलियो बनेको नेकाको ठहर रहेको छ ।
त्यसैगरी ०५४ सालमा साविक वुनपाको ६ गाविसमध्ये ६ नै गाविसमा अध्यक्षसहित महत्वपूर्ण पदहरु जितेको नेकपा एमालेले पूर्व गाविस अध्यक्ष उद्धव खरेललाई मेयर उम्मेदवार बनाएको छ । मनोनयन पत्र दर्ता गर्ने दिनको अन्त्यतिरमात्र निश्चित भएका खरेलले चुनावी अभियानसहित पार्टीभित्रको असन्तुष्टि पनि सम्हाल्नु पर्ने देखिन्छ । १९ गते दिउँसो २ बजेसम्म कुसुम कार्की मेयर बन्ने निश्चित भएको बेला फेरि एमाले हाइकमाण्डले सो निर्णयलाई सच्याएर उद्धब खरेलले टिकट पाएका थिए । खरेल पनि वुनपा विकासको खाका भएको व्यक्ति भनेर चिनाइने गरिन्छ । बुनपा बनेपछि केही समय सहजीकरण समितिमा उनी एमालेतर्फबाट प्रतिनिधि थिए ।
नेकपा एमालेले वुनपा उपमेयरमा रमा राईलाई उम्मेदवार बनाएको छ । वुनपा १० कपनकी राई शिक्षण व्यवसायमा संलग्न छिन् । राई परिचित महिला अगुवा तथा बौद्धिक र शालिन नेतृको रुपमा चिनिन्छिन् । उपमेयर पदमा राईको उम्मेदवारीबाट भने वुनपा एमालेभित्र खासै समस्या देखिएको छैन । यसअघि उपमेयर पदमा देवी रेग्मी, विन्दा गौतमलगायतले दावी गरेका थिए ।
वुनपामा विकासवादी नेताको रुपमा आफ्नो छवि बनाएका रविन अधिकारीलाई पार्टीको परिधिभन्दा माथि उठेर भोट जान सक्ने नेताको रुपमा लिइने गरिएको छ । माओवादी केन्द्रले वुनपा मेयरमा रविन अधिकारीलाई आधिकारिकरुपमा उम्मेदवार बनाएको छ । अधिकारी विगत अढाई वर्षदेखि वुनपा सहजीकरण समितिमा बसेर काम गरेका छन् । वुनपा सहजीकरणमा सबैभन्दा लामो समय बसेको अनुभव भएका अधिकारीले यो अबधिमा पार्टीको परिधिभन्दा माथि उठेर धेरै विकासे गतिबिधिमा सक्रिय रहेकाले उनले वुनपा मेयर जित्ने हो कि भन्ने त्रासमा अन्य पार्टीहरु रहेको बताइन्छ ।
माओवादी केन्द्रले वुनपा उपमेयरमा वुनपामा अन्य पार्टीरुको तुलनामा सबैभन्दा परिचित र सक्रिय महिला नेतृ हेमा अधिकारीलाई उठाएको छ । वुनपा १० की हेमा यस क्षेत्रकी परिचित महिला नेतृका साथै सामिाजिक अभियान्ता हुन् । बौद्धिक तथा साहित्यिक छवि भएकी हेमाको परिचित र सार्वजनिक चेहरा सम्भवतः अरु पार्टीका लागि असहज हुन सक्छ ।
वुनपाको मेयरमा राप्रपाले सानुकान्छा श्रेष्ठ र उपमेयरमा सावित्रा खत्रीलाई उठाएको छ । दुई राप्रपा मिलेपछि शक्तिशाली बनेको भनिएको राप्रपा वुनपाको वडा नं. ६ र १३ मा प्रभावशाली मानिन्छ ।