संगठन कौशलका कारण प्रशंसा बटुल्दै रमेश खड्का

कपन अनलाइन, काठमाडौँ । 
चारैतिर नेपाली कांग्रेसले स्थानीय निकाय चुनावका लागि उम्मेदवार छनौट गर्न सकेन भन्ने विषय सबैभन्दा ठूलोरुपले चर्किरहेको छ । विशेष गरेर काठमाडौंमा नेपाली कांग्रेसले वडासदस्यहरूसमेत सर्वसम्मत गर्न सकेन भनेर पार्टीभित्र र बाहिर आलोचनासमेत भैरहेको छ । यो प्रकृयामा विशेष गरेर क्षेत्रीय सभापतिहरु आलोचित भएका छन् । क्षेत्रीय सभापति संगठन प्रमुख हुने भएकाले उनीहरुलाई टिकेटको विषय मिलाउन हम्मे हम्मे परेको छ । पदभन्दा धेरै गुना बढि आकांक्षीहरु देखिएकाले समस्या आए पनि नेतृत्व गर्नेले मिलाउन सक्नु पर्ने कोणबाट क्षेत्रीय सभापतिहरु आलोचित हुँदैछन् । यो आलोचनाको भीडमा काठमाडौंको क्षेत्र नं. ५ भने  पृथक बनेको छ ।

वरिष्ठ नेता नरहरि आचार्यको चुनावी क्षेत्र रहेको काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका सभापति हुन् रमेश खड्का । खड्काको सक्रृयता र कुटनीतिक पहलमा यस क्षेत्रका महानगरपालिका नगरपालिकाका वडाहरुमा स्थानीय निकाय उम्मेदवारहरू सर्वसम्मत बनेका छन् । हरेक पदमा दर्जन आधादर्जन आकांक्षाीका कारण समस्या रहेको नेपाली कांग्रेसका राजधानीजसतो ठाउँमा यस खाले सर्वसम्मति गर्न सक्नुले नेपाली कांग्रेसभित्र यतिखेर रमेश खड्का चर्चामा छन् । उनी भन्छन्, “सभापति भएपछि सबैलाई मिलाएर, सम्झाएर, बुझाएर लैजाने मुख्य दायित्व मेरो नै हो । आफ्नो यो भूमिकालाई मैले कसैलाई दोषी देखाएर पन्छिन सक्दिन ।”

सभापति रमेश खड्काको यो जिम्मेवारीपूर्ण उत्तरले छिमिकी धेरै क्षेत्रीय सभापतिप्रति एक खाले कटाक्ष नै पनि हो । संगठन प्रमुख भएर यसलाई उसलाई आरोप प्रत्यारोप गरेर जनमतलाई निराश बनाइरहेका देशभर तथा राजधानीका क्षेत्रीय सभापतिलाई शिक्षा भएका छन् रमेश खड्का ।  खड्का यसरी क्षेत्रलाई मिलाएर लिएर जानुमा वरिष्ठ नेता तथा आफ्नो क्षेत्रको सांसद नरहरि आचार्यको भुमिकालाई महत्व दिन्छन् । राजधानीका अन्य क्षेत्रहरुमा नेपाली कांग्रेसभित्र क्षेत्रीय सभापति र सांसदबीचको सम्बन्ध खराब रहेकोले आन्तरिक द्वन्द्व रहेको बताइन्छ । यो समस्यालाई क्षेत्र नं. ५ का सभापति रमेश खड्काले भने क्षेत्रमा संगठनलाई विस्तार गर्न आफ्ना सांसदलाई गुरुको रुपमा उपयोग गरे । रमेशले आफ्ना नेतालाई सम्झिए, “आज स्थानीय निकाय चुनावको मुखमा मेरो क्षेत्रमा समस्या नदेखिनुको कारण हाम्रा सांसद नै हो । अझ उहाँ विरामी नभएर सक्रिय हुनु भएको भए झनै स्थिति सबल हुन्थ्यो ।”

नरहरि आचार्यले संगठन विस्तारका लागि रमेश खड्कालाई एउटा दिव्य ज्ञान दिएका छन्, मिल्नेसम्मको कुरामात्र भन्नुस्, नमिल्ने कुरा कहिल्यै नभन्नुस् । कसैसँग पनि नरिसाउनसु । सहेर बस्नुस । र उपयुक्त निर्णय आफै लिनस् । रमेश भन्छन्, “यो निर्वाचनका लागि मात्र हैन संगठनका हरेक काममा मैले उहाँको यही भावनामा बसेर काम गर्ने प्रयास गरेको छु ।”

स्थानीय निकाय चुनावको सिलसिलामा उनको क्षेत्रमा उम्मेदवार छनौट गर्न त्यति सजिलोचाहिँ थिएन । महानगरपालिकाको वडा नं. ३ र ४ मा निकै गारो थियो । यी दुवै वडामा उनको भगिरथ प्रयासले मात्र सर्वसम्मत सम्भावना भएको हो । यी दुवै वडाका पार्टी इकाई सभापतिहरु वडा सदस्यमा उठेका छन् भने आवश्यक र संगठन तथा जीतका लागि आवश्यक व्यक्ति वडाध्यक्षमा । सभापति खड्का आफ्नो मात्र प्रयासले भन्दा पनि क्षेत्रीय समिति, इकाई समिति र भातृ संगठनका सहकर्मीहरुको प्रयासलाई सम्झन चाहन्छन् ।

बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडाहरुमा पनि रमेशले सजिलै सर्वसम्मत गराउन सफल भए । वडा नं. ६ मा केही समस्या देखिए पनि उनले मिलाएर नै सो वडामा सर्वसम्मत गराए । त्यस्तै क्षेत्र नं. ५ मा पर्ने टोखा नगरपालिकाका ५ वडामा पनि रमेश खड्काले सर्वसम्मत गराएका छन् । अझ टोखा  वडा नं ७ मा महिला वडाध्यक्ष उठाउने वातावरण बनेकोमा सारै खुसी पनि छन् रमेश खड्का ।  सर्वसम्मत गराउँदा पार्टीभित्रको क्रियाशिलतामात्र हैन व्यक्तिको क्षमता, विकासमा सक्रियता तथा जित्न सक्ने व्यक्तिलाई ध्यान दिए रमेशले ।

२० वर्षपछिको स्थानीय चुनावको मुखमा क्षेत्रको संगठनलाई एक बनाएर समस्यारहित राख्नु आफैमा उत्कृष्ट संगठकको भूमिका निभएका हुन् रमेश खड्काले । स्थानीय चुनावमा उनले कसैसँग रागद्वेष देखाएनन् । उनी आफू कतै पनि यो निर्वाचनको आकांक्षी थिएनन् । नरहरि आचार्य सांसद भएकोले आचार्यको सांसद विकास कोषको लगानिसहितका अन्य विविध विकासे गतिबिधि जुन क्षेत्र नं. ५ भएका छन् ती कुराहरुलाई जनतासम्म पुर्याएर नेपाली कांग्रेसको चुनावी माहौल तयार गर्न व्यस्त छन् रमेश खड्का । रमेश भन्छन्, “क्षेत्र नं ५ मा पर्ने महानगर र नगरका सबै वडामा नेपाली कांग्रेस बलियो छ ।”

के रमेश खड्का साँच्चै कार्यकारी पदको आकांक्षा राख्दैनन् त ? रमेश आफै भन्छन्, “मैले स्थानीय निकायमा बस्ने वा दावी गर्ने कहिल्यै सोच नै बनाइन । मैले पहिले नै भनेको थिए म स्थानीय निकाय निर्वाचनमा पार्टीलाई मिलाएर लैजाने मात्र काम गर्छु भनेर ।” खड्का आउँदो संसदीय चुनावमा भने भूमिकामा देखिन चाहन्छन् ।

फोटो: बसन्त गौतम

तपाइँको प्रतिक्रिया ।