कांग्रेसको विकासवादी घोषणा पत्र: एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान
कपन अनलाइन, काठमाडौँ । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले तीनवटा मुख्य खण्ड, १२ उपखण्ड र ४ अनुसूची गरी ३४ पृष्ठ लामो घोषणा पत्र तयार पारेको छ। घोषणा पत्रमा स्थानीय निकाय केन्द्रित केही महत्वपूर्ण कार्यक्रम घोषणा गरिएको छ । घोषणापत्रमा एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान, एक वार्ड एक बुलेटिन कार्यक्रमका साथमा ‘जल, जमिन, जंगल, जडिबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार’ भन्ने मान्यतामा समुदायको सहभागिता सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।
कांग्रेसले आफ्नो घोषणापत्रमा ‘एक परिवार एक रोजगार’, ‘युवाको लक्ष्य सीप र दक्ष’ जस्ता नीति र कार्यक्रमलाई स्थानीय सरकारका माध्यमबाट सञ्चालन गर्ने घोषणा गरेको छ। आर्थिक क्षेत्रमा आफूले व्यापक नीतिगत सुधारको प्रारम्भ गरेको जनाउँदै यी सबै उपलब्धीलाई स्थानीय तहमा स्थापित र संस्थागत गराउन भूमिका खेल्ने घोषणापत्रमा उल्लेख छ। भौतिक पूर्वाधार विकासमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको दाबी गर्दै सामाजिक सुरक्षा कार्यक्रम व्यापक बनाउने बाचा गरिएको छ।
नेपाललाई आगामी १२ वर्षभित्र मध्यम आय भएको गतिशील राष्ट्र बनाउने घोषणा पनि कांग्रेसले गरेको छ। यसका लागि कम्तीमा एक दशकसम्म ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै प्रतिवर्ष पाँच लाख रोजगार सिर्जना गर्ने भनिएको छ। युवा उद्यम चुनौती कोष स्थापना गरी १६ देखि ४५ वर्षसम्मका लाई २५ प्रतिशत आफ्नै लगानी, २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋण सहयताको व्यवस्था गर्ने घोषणा गरिएको छ। पर्यटन क्षेत्रको विकाससँगै कृषि क्षेत्रको आधुनिकीरण र उत्पादन वृद्धिका लागि शिक्षा, स्वास्थ्य लगायत क्षेत्र सुधार गर्न लामो सूची तय गरिएको छ। सामाजिक सुरक्षाअन्तर्गत जेष्ठ नागरिकलाई आगामी वर्ष मासिक सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने र प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सबै दलप्रति आलोचनात्मक टिप्पणीका अतिरिक्त प्रत्येक गाउँमा एकीकृत जेष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने र उनीहरूको सेवासुविधा वृद्धि गर्ने भनिएको छ। संविधानअनुसार प्रदेशको संरचना बनिसके पनि कांग्रेसको घोषणापत्रको पूर्वाधार विस्तारको संकल्पमा भने हिमाल, पहाड र तराई मधेस क्षेत्रकै आधारमा विकास पूर्वाधारको विषय केन्द्रित गरिएको छ।
२००७ सालको राजनीतिक परिवर्तनदेखि पछिल्लो संविधान निर्माणमा कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाबारे चर्चा गरिएको छ। वैशाख ३१ को निर्वाचनलाई लोकतन्त्र तलैदेखि सबल र संस्थागत गर्ने अभूतपूर्व अवसरका रूपमा लिँदै स्थानीय सरकारको नयाँ संवैधानिक प्रयोगले लोकतन्त्रलाई नेपाली जनताको घरआँगनमा पुर्याउने उल्लेख गरिएको छ।