अग्निपीडितकालागि काठमाडौँमा करिब बाह्र लाख सङ्कलन
कपन अनलाइन
तेह्रथुम, २१ चैत । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्तिबजारका अग्निपीडितका लागि यहाँ जन्मिएर काठमाडौँमा कार्यरत नेपालीबाट राहतस्वरुप करिव रु १२ लाख सङ्कलन भएको छ ।
काठमाडौँस्थित तेह्रथुम सरोकार समाज, र सिटौला सेवा समाजले सङ्क्रान्तिबजारका अग्निपीडितका लागि हालसम्म रु ११ लाख ८६ हजार ९५२ सङ्कलन गरेका हुन् ।
सङ्कलितरकममध्ये तेह्रथुम सरोकार समाजबाट रु आठ लाख ४४ हजार ६२ र सिटौला सेवा समाजबाट रु तीन लाख ४२ हजार आठ सय ९० रुपैयाँ सङ्कलन भएको राहत सङ्कलन समितिका संयोजक मोहनकुमार डाँगीले जानकारी दिनुभयो ।
अभियानकै रुपमा सङ्कलित राहत रकम चैत २६ गते वितरण भएकाले अझैपनि कोही इच्छुक भए सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।
सो अभियानमा हालसम्म सबैभन्दा धेरै कमलमणि दीक्षित परिवार ललितपुरबाट रु दुई लाख, तेह्रथुम सरोकार समाजका अध्यक्ष विजय सम्बाहाम्फेबाट रु ५१ हजार, मोहनकुमार डाँगी ह्वाकुबाट रु ५१ हजार, सुमन पौडेल ह्वाकुबाट रु ५१ हजार प्राप्त भएको छ ।
यस्तै नारायणप्रसाद खनालबाट रु ५१ हजार, डा ओमकृष्ण सिटौलाबाट रु ५१ हजार, स्व पदमलाल सिटौला परिवारबाट रु ५१ हजार, तीनजुरे मिडिया ग्रुपबाट रु ३८ हजार, हरि सिटौला परिवारबाट रु ३० हजार र युवराज डाँगी ह्वाकुबाट रु २६ हजार पाँच सय ५१ प्राप्त भएको संयोजक डाँगीले जानकारी दिनुभयो ।
यस्तै डा कृष्णप्रसाद दुलाल, सरोज थापा, बङ्गलादेश बैंक नेपाल लिमिटेड, बद्रिप्रसाद सिटौला र एलआइसी नेपालबाट जनही रु २५ हजार सहयोग प्राप्त भएको छ भने अन्य दर्जनौँ सङ्घ संस्था तथा व्यक्तिबाट एक हजारदेखि २० रुपैयाँसम्म सहयोग रकम सङ्कलन गरिएको छ । अग्निपीडितको घाउमा मलमपट्टि लगाउन सकियोस् भन्ने ध्येयले राहत सङ्कलन गरिएको उहाँको भनाइ छ ।
सङ्क्रान्तिबजारमा गत पुस १ गते आगलागी हुँदा २४ घर पूर्णरुपमा जलेका, पाँच घरमा आंशिक क्षति भएका र तीन वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् । अग्निपीडितका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले म्याङलुङमा रहेको नेपाल बैंकमा सञ्चालन गरेको राहत कोषमा हालसम्म रु ५३ लाख भन्दा बढी रकम सङ्कलन भइसकेको छ ।
सरकारको तर्फबाट हालसम्म डेरावालाबाहेक अग्निपीडित घरवाला तथा व्यापार व्यवसाय गरिरहेकालाई रु १०÷१० हजारका दरले राहत वितरण गर्नाका साथै जिन्सी राहत सामग्री पनि उपलब्ध गराइएको छ । अग्निपीडित अहिले क्रमशः पुनः व्यवसायमा फर्किन थालेका छन् ।
सङ्कलन भएको राहत रकम जिल्ला दैवीप्रकोप उद्धार समितिले मापदण्ड तयार गरेर वितरण गर्ने तयारी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले बताउनुभयो । अग्निपीडित परिवारले भने सङ्कलित रकम क्षतिको विवरणको आधारमा वितरण गर्न माग गरेका छन् ।
आगलागीबाट रु १४ करोड ८ लाख क्षति भएको प्रहरीको तथ्याङ्क छ । रासस