बुनपा एमालेमा मेयर पदका लागि बौद्धिकता, कानुनी तथा प्रशासकीय दक्ष को हो ?

कपन अनलाइन, काठमाडौँ । स्थानीय निकाय निर्वाचन विशेष विश्लेषण । 

बैशाख ३१ गते हुने स्थानीय निकाय चुनावलाई धेरैले २० वर्षअघि भएका स्थानीय तहको अबधारणा नै हो भनेर बुझेको पाइन्छ । उम्मेदवार हुन चाहने भनेर चियापसल तताउनेहरुको मान्यता पनि अहिले हुन लागेको स्थानीय तह निर्वाचनको मर्मसम्म पुगेको छैन । पूर्व गाविस अध्यक्ष भएको वा तीन दशकदेखि पार्टीमा कृयाशील भएको भन्ने सतही योग्यता नै स्थानीय तह निर्वाचनमा भाग लिने मापदण्ड बनेको पाइन्छ ।

 
फेशबुक नामक सामाजिक सञ्जालमा टुटेफुटेका भाषामा फलानो पदको सर्वाधिक योग्य उम्मेदवार हुँ भनेर लेख्ने वा लेख्न लगाउने प्रवृतिबाट गाविस अध्यक्ष भएको वा यतिवर्षदेखि राजनीतिमा कृयाशिल हुनुको योग्यता सही मानेर टिकट बाँडियो भने सम्भवतः अबको स्थानीय निकाय राम्ररी संचालित हुन सक्दैन । सरकारले स्थानीय निकायलाई स्थानीय सरकार बनाएको हुनाले यो राज्य चलाएझैँ चलायमान हुने संस्था बनेको छ । सरकार भएकाले यसले राज्य संचालनको हैसियतले आफ्नो कानुन नीति निर्माण तथा कार्यान्वयन गर्न पाउने आफ्नै अधिकार प्राप्त गरेको छ स्थानीय निकायले ।

 
स्थानीय तहमा मेयर भन्नाले सो क्षेत्रको प्रधानमन्त्री हो । बुढानिलकण्ठ नगरपालिकाको कुरा गर्दा यो प्रधानमन्त्रीसरहको पदका लागि हुने घमासानमा के उचित व्यक्तिहरुले दावी गरिरहेका छन् त ? उचित अनुचितको परिभाषा कसरी गर्ने ? लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहिन भएकोले दावी गर्ने अधिकार हरेक राजनीतिक कार्यकर्ताको हो तर सबैभन्दा बुझ्नु पर्ने के हो भने मेयर, उपमेयर वा वडाध्यक्ष भनेको राजनीतिक पद होइन यो कार्यकारी पद हो । राजनीतिक इतिहासले यो पद हाँक्न सकिदैन । यो पद हाँक्न कानुनी ज्ञान, प्रशासकीय क्षमता तथा बौद्धिकताको जरुरी छ ।

 

कानुनी ज्ञान, प्रशासकीय क्षमता र बौद्धिकताको कसीमा जाँचेर यदि मेयर, उपमेयर वा उम्मेदवार उठाउने काम गरिएन भने स्थानीय निकाय कर्मचारीले चलाएको भन्दा पनि कमजोर हुनेछ । यो विषयमा राजनीति गर्नेहरुले बुझ्नु जरुरी छ । तर के राजनीतिक दलहरुले यो कुरा बुझेर उम्मेदवार देलान् ? नेपाली कांग्रेस र एमालेले लोकप्रियताको आधारमा टिकट बाँड्ने भनेर एकदमै सस्तो कुरा उठाएका छन् । लोकप्रियताको नामममा कानुनी ज्ञान, प्रशासकीय क्षमता र बौद्धिकताको कसीमा कमजोर हुने व्यक्तिलाई चुनावी मैदानमा पठाइयो भने स्थानीय निकाय भयांकार दुर्घटनामा पुग्नेछ ।

 

 

बुनपामा शैक्षिक योग्यताको आधारमा हेर्ने हो भने नेपाली कांग्रेसका मेयर दावी गर्नेहरुभन्दा एमालेबाट मेयर दावी गर्नेहरु अब्बल मानिन्छन् । स्थानीय निकाय चलाएको अनुभवको आधार हेर्दा पनि नेकाभन्दा एमाले नै अगाडि छ । एमालेका जयराम थापा, दीपक निरौला, उद्धब खरेल, कुसुम कार्की सबै स्नातकोत्तर तथा स्नातक हुन् भने नेकाबाट प्रायः सबै प्रमाणपत्र तह शैक्षिक योग्यता हासिल गरेका छन् । शैक्षिक योग्यताको साथै कुशल प्रशासकीय क्षमताको आधारमा हेर्ने हो कानुन व्यवसायी, बुढानिलकण्ठ क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका जयराम अब्बल मानिन सक्छन् ।

 

जयराम थापा कानुन तथा सुशासन विषयका विद्यार्थीमात्र हैन यस्तै विषयमा विद्यावारिधीको तयारीमा गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा जयराम थापा युवा हुन् । शैक्षिक क्षेत्रमा उनको अनुभव पनि प्रशासकीय दक्षताको कसीमा काम लाग्ने गुण मानिन सक्छ । सबैभन्दा ठूलो कुरा थापासँग बुढानिलकण्ठ नगरपालिका विकासको खाका रहेको छ । नगरपालिकाको सर्वाङि्गण विकासको अवधारण बोकेका छन् थापाले । लोकप्रियताको कसीमा पनि थापा अब्बल नै मानिन्छन् भने पार्टीमा पुर्याएको योगदानको हिसाबमा पनि उनलाई समकक्षी दावेदारमध्ये कमजोर मानिदैन । पार्टीमा बुद्धिजिवी माथिल्लो निकायमा बसेर काम गरेका अनुभव छ उनीसँग । पार्टीभित्र थापा महासचिव इश्वर पोखरेलसँग अत्यन्त निकट छन् भने अन्यसँग पनि समदुरीमा रहेका छन् । पार्टीमा पहुँचका हिसाबले पनि थापालाई संभावित एमाले उम्मेदवारको सूचिमा अगाडि बनाएको छ ।
जयराम थापासँगै वर्तमान काठमाडौ ४ क्षेत्रीय अध्यक्ष कुसुम कार्कीलाई पनि बौद्धिक, प्रशासकीय कुशल र सुझबुझयुक्त व्यक्तिको रुपमा लिइन्छ । कार्कीसँग पूर्व गाविस अध्यक्ष भएको गुणमात्रै हैन सांगठनिक कुशलता र कानुनी सुझबुझले पनि अगाडि मानिन्छन् । शान्त र भद्र स्वरुपका कार्की पार्टी लाइनका हिसाबले माधव नेपाल पक्षीय मानिन्छन् ।
त्यसैगरी हालै नगर संयोजक भएका दीपक निरौला र प्रदेश कमिटि सदस्य उद्धव खरेल पनि शैक्षिक योग्यताका हिसाबले अगाडि मानिन्छन् । निरौला कानुनका विद्यार्थी हुन् । टिकेट बाँड्ने काममा भूमिका निर्वाह गर्न नगर संयोजक बनेका निरौलालाई मेयरका उम्मेदवार भन्दा पनि कसलाई उम्मेदवार बनाउने काममा बढि भूमिका देखिन्छ ।
बुनपा एमालेमा मेयर पदका लागि दक्ष हुनसक्ने आधारका धेरै व्यक्तिहरु छन् । तीमध्ये कसले टिकट ल्याउँछ हेर्न बाँकी छ । नेपाली कांग्रेस मजबुत मानिने बुनपामा मेयर जित्नका लागि एमालेले बौद्धिकता, कानुनी तथा प्रशासकीय दक्षता बेच्न आवश्यक छ ।

तपाइँको प्रतिक्रिया ।