बुनपामा एमाले कमिटीले पत्रकार सम्मेलन गरेर जीत तयारी बतायो, भोलि नगर कार्यालय उद्घाटन

कपन अनलाइन, काठमाडौँ 

बुनपा एमाले संगठन कमिटीले एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर नगरपालिकामा जीतको लागि रणनीतिक तयारी भैरहेको बताएको छ । नगर संगठन कमिटीका संयोजक दीपक निरौलाले बुनपामा एमालेको जीत सुनिश्चित अवस्थामा बनाउन आफू आफ्नो टिम दिनरात नभनी हिँडेको बताए । नगर संगठन कमिटिको कार्यालय उद्घाटनको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाटमा बुनपा एमालेभित्र कुनै समस्या नरहेको भन्दै जसले टिकट पाउँछ उ सर्वमान्य हुने आशय सहभागि सबैले बताएका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संयोजक निरौलाले १३ वटै वडामा व्यवस्थित कार्यालय तथा कार्यलयका प्रचार कार्यक्रम तयार भएको बताए । निरौलाले जनतामाझ व्यक्तिभन्दा एमाले र सूर्यचिन्हलाई प्राथमिकता दिएर प्रचार अभियान चलाउने तयारी रहेको बताए । लोकप्रियताको आधारमा वडा कमिटिबाट आएको नाममध्येबाट मेयरमा तीन र उपमेयरमा तीन सदस्यको सिफारिस गरिने बताउँदै निरौलाले प्रदेश कमिटिले नगरबाट पठाएकै नाममध्येबाट एकलाई छान्ने जानकारी दिए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै निरौलाले बुनपा एमालेले साँच्चै आक्रमक ढंगले प्रचारप्रसार र सामाजिक संजालको उपयोगमा लाग्ने बताउँदै पत्रकार भेटघाटको यो सुरुवातामात्र भएको र अबका दिनमा यस्ता भेटघाट निरन्तर भैरहने बताए । कार्यक्रममा संभावित मेयर पदका प्रत्यासीहरु जयराम थापा, बिदुरविक्रम खड्का, बालकृष्ण श्रेष्ठ, उद्धव खरेल, सुन्दर पुर्कुटीलगायतका नेताहरु उपस्थित थिए भने क्षेत्र नं. ४ का अध्यक्ष कुसुमकुमार कार्की उपस्थित थिएनन् ।

तपाइँको प्रतिक्रिया ।