नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना, ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण पत्ता लागे

कपन अनलाइन 

धुव्रसागर शर्मा

म्याग्दी, १८ चैत । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ ।

भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका चालिस बर्षीय अनुसन्धानकर्ताले सुल्झिन नसकेर रहेको उक्त भौतिक शास्त्रीय समस्याको वास्तविक कारण र आखिरी समाधान पहिल्याउन सफल भएका हुन् । कुँवरले यस विषयमा केही वर्षदेखि खोज निरन्तर रुपमा गरिरहेका थिए । उनले केही वर्षदेखि यस विषयलाई पुस्तक, प्रवचन र अनुसन्धनात्मक लेखमा उल्लेख गर्दै आएपनि परीक्षणले पूर्णता भने केही महिनाअघि मात्र प्राप्त गरेको हो ।

सन् १५६४ मा इटालीमा जन्मिएका महान् वैज्ञानिक ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा भौतिक शास्त्रका क्षेत्रमा एउटा परीक्षण प्रयास थालेका थिए । त्यसपछिका न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइनजस्ता वैज्ञानिकले आफ्नो जीवनको धेरैजसो भाग त्यही प्रयासको वरिपरि बिताउँदा पनि समस्या सल्टिन सकेको थिएन ।

इटालीमा आफ्नो अध्ययन पुरा गरी हाल काठमाडौंका विभिन्न अनुसन्धान संस्थामा सम्बद्घ रही अनुसन्धान गरिहेका वैज्ञानिक कुँवरले भने, ‘यसका कारण लामो समयदेखि विश्वभरिका विश्वविद्यालय, कलेज र विद्यालयमा रहेका प्राध्यापक तथा शिक्षकले कामचलाउ सूत्रका भरमा अध्ययन–अध्यापन गराउँदै आएका थिए ।’

विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रमा प्रदर्शन गरिएका परीक्षण र प्रवचनका शृङ्खलापछि कुँवरले सन् २०१६ को डिसेम्बरमा उक्त समस्याको समाधानसँग सम्बन्धित अनुसन्धानपत्र प्रकाशित गरेका थिए । ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ शीर्षकका ती दुई अनुसन्धानपत्र भौतिक विज्ञानका लागि चाबी सिद्ध हुने खोजकर्ता कुँवरले बताए ।

समस्यासँग सम्बन्धित सैद्धान्तिक, गणितीय र प्रायोगिक प्रमाण पनि अनुसन्धानपत्रमा संलग्न गरिएको छ । ‘विश्वमा हाम्राभन्दा धेरै सुविधासम्पन्न प्रयोगशाला छन् । लगानीको अभाव पनि छैन । तर आजसम्म यति गम्भीर समस्याको समाधान पहिल्याउन किन ध्यान दिइएन ? म आश्चर्यमा छु’, कुँवरले आश्चर्य प्रकट गरे ।

‘अनुसन्धान पत्र र सम्बन्धित समाधान पढेपछि यस विषयले हामीलाई मात्र होइन संसारका सबै भौतिक शास्त्रीलाई आश्चर्यमा पार्नेछ’– कुँवरले भने । भौतिक शास्त्रमा कोठाभित्र गरिएका बैठक र छलफलबाट अमुक परिणाम निस्क्यो भनेर जानकारी गराउने प्रवृत्तिभन्दा आफू निकै टाढा रहेको बताउँदै कुँवरले भने, ‘भौतिक शास्त्रीय परिणाम निस्केपछि भएको के थियो भन्नेबारे सबैलाई खुलेर जानकारी गराउन सक्नुपर्छ र नतिजा परीक्षणबाट स्पष्ट रुपले देखाउन पनि सक्नुपर्छ ।’

भौतिक शास्त्रीय खोज तथा अनुसन्धान परीक्षण गर्दा सधैँ उही परिणाम आउने र प्रयोगशाला र प्रदर्शनमा खुलेर देखाउन सकिने खालका हुनुपर्ने धारणा कुँवरको छ । उनले अनुसन्धानपत्र सबैले अध्ययन गर्न पाउने गरी प्रकाशित गरेका छन् । यसखाले अनुसन्धानपत्र अध्ययन गर्न अन्य देशमा भने चर्को मूल्य तिर्नुपर्ने हुन्छ । रासस

तपाइँको प्रतिक्रिया ।