रम्भादेवी मन्दिर क्षेत्रमा पूर्वाधारको अभाव

कपन अनलाइन 

(कृष्ण दर्नाल)

पाल्पा, २५ फागुन । पाल्पा जिल्लाको ताँहु गाविसस्थित रम्भादेवी मन्दिर क्षेत्र पूर्वाधारको अभाव रहेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वले धनी ताँहु गाविसको प्रसिद्ध रम्भादेवी मन्दिर जिल्ला सदरमुकाम तानसेनदेखि करिब ३१ किलोमिटर पूर्वकोे रम्भापानीको जङ्गलभित्र फैलिएको छ ।

मन्दिरमा त्रिशूल, नाग र गाईका मूर्ति, एउटा मन्दिर र एउटा प्रशिक्षालय भएपनि पर्यटक आकर्षण गर्ने भौतिक संरचनाको विकास हुन नसक्दा ओझेलमा पर्दै आएको छ । बाह्रै महिना शीतल हुने यस रम्भादेवी मन्दिर क्षेत्रमा पर्यटकीय क्षेत्रका रुपमा विकास गरी प्रशस्त आम्दानी लिन सकिने स्थानीयवासी बताउँछन् । रम्भादेवी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व रहेपनि विकासका पूर्वाधारको विकास हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य बन्न सकेको छैन ।

भगवान् राम, सीता र लक्ष्मण वनबास निस्कँदाको यात्रासँग सम्बन्ध जोडिएकाले स्थानीयवासी राम, सीता र लक्ष्मणको मूर्ति निर्माण गरी पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ । मन्दिर क्षेत्रबाट १५ मिनेट पैदल यात्रा गरेपछि मन्दिरमा पुग्न सकिने पुजारी प्रेमनारायण पाण्डेले बताउनुभयो । मन्दिर प्रवेश गर्ने बाटो ढुङ्गाले छापिएको र वन क्षेत्रमा त्यहाँ पुग्ने मानिसले प्राकृतिकरुपमा आनन्द लिन सकिने स्थानीय बासिन्दा दीपा परियारले बताउनुभयो ।

भगवान राम, सीता र लक्ष्मण वनबास निस्ँिकदा राम्दी जाँदा ताँहुमा बाँस बस्नुप¥यो, वनबास निस्केका बेला सीतालाई तिर्खा लागेपछि पानीका लागि रामसँग आग्रह गर्दा रामले आफूसँग रहेको धनुबाणले हानेर जमिनमुनिको पानी निकाली सीताको तिर्खा मेटाएको भन्ने विश्वास रहेको पुजारी प्रेमनारायण पाण्डेको भनाइ छ ।

मन्दिरनजिकै अहिले पनि पानी प्रशस्त देख्न सकिन्छ । यहाँको पानीको मुहानबाट ताँहुका करिब दुईसय घरपरिवारले पानी प्रयोग गर्दै आएका छन् । मन्दिरको प्रशस्त प्रचार हुन नसक्दा धार्मिक महत्व बोकेको यो मन्दिर अझै पनि गुमनाम छ । यो क्षेत्र ऋषिमुनिको पनि तपोभूमिका रुपमा समेत प्रसिद्ध मानिएको छ । ऋषिले आराधना गर्दा रम्भादेवी प्रकट भइन् । जमिनमुनि मेरो शिला छ, त्यसलाई निकालेर पूजा गर्नु भन्ने आज्ञा भएपछि जमिनमुनि खन्दा शिला फेला परी त्यसलाई मन्दिर बनाएर रम्भादेवीको पूजा गर्दै आएको पुजारी प्रेमनारायण पाण्डेको भनाइ छ ।

देवी सीतालाई रमा नामले समेत चिनिने गरिएकाले रामले पानी उत्पत्ति गरी तिर्खा मेटाएकाले यस मन्दिर क्षेत्रलाई रमापानी नामले पनि चिनिन्छ । रम्भादेवी मूर्ति पटक पटक चोरी भएपछि पुजारीले रातको समयमा घरमा लैजाने र बिहान पुजा गर्न मन्दिर दैनिक डोकोमा बोकेर ल्याउने चलन रहिआएको छ ।

कृष्ण भगवान् जन्मेको दिनको सम्झनामा बर्सेनि भाद्र कृष्णअष्टमीका दिन विशेष मेला लाग्दै आएको छ । मन्दिर पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वासले रोट, फलफूल र पञ्चबलि समेत चढाउने चलन छ । सोही समयमा स्थानीयवासीले नाचगान, शृङ्गारका सामान, कपडा, स्थानीय खानाका परिकार, घरेलु उत्पादनसमेत बेच्न राख्ने र यस क्षेत्रका बासिन्दाले मन्दिरमा पूजा गर्ने सामान राखी किनबेच हुने स्थानीय बासिन्दा हिमाल परियार बताउनुहुन्छ । रासस

तपाइँको प्रतिक्रिया ।