पर्वतबाट ९८ हजार मतदाता निर्वाचनमा सहभागी हुने
कपन अनलाइन
फलेवास (पर्वत), ११ फागुन । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाबाट ९८ हजार मतदाताले सहभागिता जनाउने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार हालसम्म ९८ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका हुन् । गत असोज मसान्तसम्ममा जिल्लामा ९७ हजार ३९३ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन् भने ६ सय जनाभन्दा बढीले अन्य जिल्लामा नाम लेखाएकाले ९८ हजारभन्दा बढीले मतदानमा सहभागिता जनाउन पाउने भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।
जिल्लामा सङ्कलन भएका ९७ हजार ३९३ जना मतदातामध्ये ४६ हजार १८६ पुरुष र ५१ हजार २०७ महिला रहेका छन् । पुरुष बढी मात्रामा वैदेशिक रोजगारीका लागि मुलुक बाहिर भएकाले पनि महिलाहरुको सङ्ख्या बढी भएको हो ।
मतदाता नामावलीमा नाम लेखाएकामध्ये दुईहजार ९३० जनाले भने मतदानमा सहभागी हुन नपाउने भएका छन् । उनीहरु फागुन मसान्तसम्म १८ वर्षभन्दा कम उमेर समूहका हुने भएकाले उनीहरुले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन नपाउने निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो ।
सरकारले सोमबार आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मङ्गलवारदेखिनै मतदाता नामावली सङ्कलन कार्य रोकिएको छ । सोमबारसम्म जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय, हुवासबाट समेत मतदाता नामावली सङ्कलन हुँदै आएकोमा मङ्गलवारदेखि सबैठाउँमा रोकिएको हो । उहाँका अनुसार स्थानीय तहको निर्वाचनसम्म मतदाता नामावली सङ्कलनको कार्य हुँदैन ।
विदेशमा भएका वा अन्य कुनै कारणले छुटेकाहरुले स्थानीय निर्वाचनपछि मात्र पुनः मतदाता नामावलीमा नाम लेखाउन पाउने भएका छन् । निर्वाचन कार्यालयले २०७० सालको सविधान सभा निर्वाचन अघिदेखिनै मतदाता नामावली सङ्कलन गर्दै आएको थियो ।
उक्त अभियानबाट हालसम्म ९९ हजार १३० जनाले नाम लेखाएको भएपनि दुई हजार ९३० जना १८ वर्षभन्दा कम उमेर समूहका रहेकाले मतदान गर्नका लागि अयोग्य रहेको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सबैजसो तयारी सुरु गर्न थालेको जनाएको छ । रासस