निर्वाचनका लागि मुख्य दलबीच समझदारी हुनुपर्छ ःसचिव भट्टराई
कपन अनलाइन
भक्तपुर, ६ फागुन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधान घोषणा गर्ने मुख्य राजनीतिक दलबीचको समझदारीबाट निर्वाचनका लागि अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबमा आज आयोजना भएको साक्षात्कार कार्यक्रममा उहाँले संविधान निर्माण गर्ने मुख्य राजनीतिक दल निर्वाचनका लागि एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
एमाले प्रचार विभागका प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले देशलाई निकास दिन र संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको चर्चा गर्दै दलहबीच समझदारी बनाउन नसके र चुनावको मितिसमेत घोषणा गर्न नसके वर्तमान सरकारको औचित्य समाप्त हुने धारणा व्यक्त गर्नुभयो ।
“निर्वाचन गराउन नसके वर्तमान सरकारको औचित्यता समाप्त हुन्छ,” उहाँले भन्नुभयो– सबै दल मिलेर निर्वाचनको वातावरण बनाई निर्वाचनमा भाग लिनुपर्छ ।
सचिव भट्टराईले “संविधान संशोधन प्राकृतिक हिसाबले मरिसकेको र प्राविधिक हिसाबले ढुकढुकी रहेको अवस्थामा व्यवस्थापिका संसद्को श्ययामा सुताइएको छ भन्दै निर्वाचनको माध्यमबाट आउँदो व्यवस्थापिका संसद्ले मात्र सो विधेयकलाई अगाडि बढाउन सकिने बताउनुभयो ।
एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको बताउँदै उहाँले संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केही फरक नपर्ने बताउनुभयो । रासस