इनभेष्टमेन्ट बैंक धनगढीको रकम चोरीमा कर्मचारीको संलग्नता
कपन अनलाइन
मिन ठकुरी
धनगढी, २ फागुन । नेपाल इनभेष्टमेन्ट बैंक धनगढी शाखाको चोरिएको रकम फेला परेको छ । बैंकको शुक्रबार साँझ एटीएम लकरबाट २३ लाख ४४ हजार रकम चोरि भएको थियो ।
प्रहरीले सो बैंकका टेलर गोबिन्द उपाध्याय र एकजना सुरक्षागार्डलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दै जाँदा सोमबार चोरिएको सबै रकम प्रहरीले बरामद गरेको हो ।
अनुसन्धानका क्रममा टेलर उपाध्यायले २२ लाख ७० हजार अत्तरिया नगरपालिका १० स्थित लीला जोशीको घरको आँगनमा रहेको परालको कुन्योमा लुकाई राखेको अवस्थामा र ७४ हजार धनगढी बसपार्कको ऊँ शान्तिटोलमा बस्ने उपाध्यायको कोठाबाट बरामद गरेको कैलाली प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीले बताए ।
चोरिएको रकमसहित सोमबार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि चोरि कार्यमा संलग्न उपाध्यायलाई सार्वजनिक गरेको हो ।
उपाध्यायले सुनियोजित तबरले एटीएमबाट पैसा निकालेको प्रहरीको भनाई छ । उनले बैंकको सीसीटिभी बन्द गरेर एटीएम लकर मेशिनको दुईटै पासवर्ड पत्ता लगाई एटीएमबाट पैसा झिक्न सफल भएको प्रमुख चन्दले बताए । चोरिमा संलग्न उपाध्यायलाई बैंकिङ चोरि तथा सजाय कसुर ऐन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।