कसैको केही लाग्दैन कि क्या हो ?
कपन अनलाइन
नेपाल टेलिभिजन त्यहीँभित्रका धमिराको कारण कसरी प्रतिदिन खोक्रो बन्दै गइरहेको छ भन्ने पछिल्लो तथ्य हो यो । केही करोड नतिरेकै कारण देखाएर वल्र्ड भिजन र सिंक्रो मिडियालाई कालोसूचीमा हालेको नेपाल टेलिभिजन व्यवस्थापकले दशांै करोड नतिर्दासमेत मिडिया हबलाई कारबाही गर्न किन खुट्टा कमाइरहेको छ ? बरु अहिले यही एजेन्सीले शुक्रबारदेखि अर्काे टेलिसिरियल ल्याउँदै छ ।
नेपाल टेलिभिजनलाई मिडिया हबले तिर्नुपर्ने साढे १० करोड रकम तिर्न फागुनभित्र समय दिइएको थियो । उसले राखेको ४ करोड ९९ लाखको धरौटी क्रस गरी १० करोड रुपैयाँ दाखिला गर्नुपर्ने छ । तर, अहिले १० करोडमध्ये ३ करोड रुपैयाँ छुट दिन सञ्चारमन्त्रीले ग्रिन सिग्नल दिएसँगै कार्यकारी अध्यक्ष महेश दाहाल, कर्मचारी युनियनका अध्यक्ष गोविन्दमणि धिताल, व्यापार प्रमुख नवराज नेपाली, कार्यक्रम प्रमुख प्रकाशजंग कार्की, सेन्सर प्रमुख रामेश्वर शुक्लाहरूको मिलेमतोमा शुक्रबारदेखि उसले नयाँ टेलिसिरियल ल्याउने तयारी गरिरहेको हो ।
नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष तथा सोम धितालका जिल्लावासी गोविन्दमणिले मिडिया हबले ३ करोड तिररे नयाँ सिरियल ल्याउन लागेको जनआस्थासँग स्विकारेका छन् । अबको सम्झौताअनुसार मिडिया हबले नेपाल टेलिभिजनलाई प्रत्येक साता १० लाख रुपैयाँका दरले तिर्दै जानुपर्छ भने नयाँ टेलिसिरियलका लागि समेत हरेक हप्ता पैसा भुक्तानी गर्दै जानुपर्ने शर्त छ ।
नेपाल टेलिभिजनको कमेडी स्लटमा बर्सेनि टेण्डर हुने नीतिलाई धोती लगाएर ३÷३ वर्षमा टेण्डर हुने नीति उनै मिडिया हबका मालिकले बनाएका हुन् । त्यस्तै, त्यहाँका घुस्याहा कर्मचारीलाई हातमा लिएर एउटै एजेन्सीलाई ४ वटा स्लट पाउने नीति पनि सोमहरूले नै त्यहाँ घुसाएका छन् । यसरी नेपाल टेलिभिजनमा मिडिया हबको एकछत्र राज जमाइँदै मात्र आएको छैन । टेलिसिरियलवाला कलाकारलाई फुटाउने काममा समेत धितालको सक्रियता रह्यो ।
मिडिया हबले टेलिसिरियल ल्याउने तयारी भइरहँदा छक्का–पञ्जाका कारण विवादित बनेका दीपकराज गिरीहरू तीतो सत्य ल्याउन तम्सिएका छन् । उता, धुर्मुस–सुन्तली पनि मेरी बास्सैलाई निरन्तरता दिने धुनमा छन् । यता, भद्रगोलका निर्माता बेलासे मिडिया हबबाट उठ्नुपर्ने ६० लाख रकम नउठी नयाँ टेलिसिरियल नल्याउने अड्डी कसिरहँदा भद्रगोल टिमबाट बेलासेलाई गलहत्याएर पाँडे र जिग्रीलाई अगाडि सारेरै भए पनि शुक्रबारदेखि नयाँ टेलिसिरियल ल्याउने तयारी सोमको छ । जनआस्था साप्ताहिकले आज समाचार प्रकाशित गरेको छ ।