प्रतिशोधपूर्ण व्यक्ति चरित्रहत्याको विद्रुप रुप

कपन अनलाइन, काठमाडौँ । दृष्टिकोण

 

– केशव पाठक

कुनै दिन यसखाले लेख लेख्नु पर्ला भन्ने लागेको थिएन । यो दृष्टिकोण लेखिरहँदा नेपाली राजनीतिकको घृणित पक्षले मलाई बशिभूत बनाएको छ । विस्मित भएर लेख्न बसेको छु । चिनेका केही पात्रको नाटकीय बुद्धि र केही पात्रलाई बनाइएको बलिको बोकोले मलाई यो लेख लेख्ने वातावरण सिर्जायो । तर साँच्चै मान्नुस्, म राजनीतिका यी हर्कतबाट अत्यन्त खुशी छैन । राजनीति भनेको यति घृणित कुरो हैन होला जति देखाइदैछ ।

 

पछिल्ला केही समयदेखि यता बुढानिलकण्ठ नगरपालिकामा आबद्ध केही पात्रहरुका बारेमा पाठक पत्र नामबाट केही चलेका साप्ताहिकमा वाक्यविन्यास र हिज्जेसमेत नमिलेका वाक्यहरुको डंगुर सार्वजनिक भएको छ । व्यक्ति चरित्रहत्या गर्ने नाममा लेखिएको यी वाक्यहरुले लेख्नेको बुद्धिमानीमा मात्र हैन प्रकाशन गर्ने संस्थाको बुद्धिमत्तामा पनि गम्भीर असहमति जनाउन सकिन्छ ।

 

बुढानिलकण्ठ नगरपालिका सहजीकरण समितिमा रहेका राजाराम बुढाथोकी, शिक्षा तथा खेलकुद समितिका संयोजक बद्रि भट्टराई र नगरपालिकका ओभरसियर विनोद पौडेलप्रति लक्षित गरेर लेखिएका ती वाक्यहरुले व्यक्ति चरित्रहत्या मात्र गरेको छ । उनीहरुले के नराम्रो काम गरे वा कसरी गरे भन्नेतिर भन्दा पनि नाजायज कुराहरुलाई प्रकाशन गरिएको छ । घरपरिवार, श्रीमती र ससुराली, सालीजस्ता विषयमा लेखिएको ती वाक्यहरु जसले पनि पढ्छ उसले कति घृणित व्यक्तिहरुको दिमाग चलेको होला भनेर सहजै अनुमान गर्न सक्छन् ।

 

लेखाईको आशय नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दीको उपजजस्तो सबैले अनुमान लाउन सक्छन् । चरम गुटबन्दीमा रहेका नेका काठमाडौं क्षेत्र नं. ४ मा यी पात्रहरु नेपाली कांग्रेस बुनपाभित्रका महत्वपूर्ण मानिन्छन् । राजनीतिमा मन नपरेको र उनीहरुको प्रगतिबाट आरिस गरेर आएको यी पाठकपत्रहरुले कालन्तरमा व्यक्तिलाईभन्दा पार्टीलाई नै बदनाम गर्नेछ ।

 

बद्रि भट्टराई विद्यार्थी राजनीतिबाट उठेका केही गर्न सक्ने युवा नेताको रुपमा सबैले सोचेका र देखिएका पात्र हुन् । भट्टराई जिल्ला खेलकुद विकास समितिका उपाध्यक्षसमेत हुन् । नेपाली कांग्रेसको राजनितिमा ३० वर्षको हाराहारीका युवाले गरेको यो प्रगतिलाई आफ्नाहरुले नसहेको देखिँदै आएको हो । राजाराम बुढाथोकी आसान्न स्थानीय निकाय चुनावमा बुनपाबाट नेकाका लागि संभावित मेयर उम्मेदवार हुन् भनेर सोचिएको व्यक्ति हुन् । कपन अनलाइनको सर्वेक्षणमासमेत देखिएको कुरा हो यो ।

 

समस्या बद्रि भट्टराई वा राजाराम बुढाथोकीमा नभएका हैन होला । म लामोसमयदेखि यी पात्रहरुको नजिकमा छु । कतिपयपटक बद्रि भट्टराई र राजाराम बुढाथोकीबीच मेरा पनि मनोमालिन्य भएको छ । बद्रि भट्टराईसँग सामाजिक संजालमा कोसाकोस भएका छन् । तर पाठकपत्रका नाममा प्रकाशित ती वाक्यहरुमा लेखिएका सबैकुरा अत्यन्त कपोलकल्पित हुन् । नाजायज हुन् । भ्रामक हुन् । यसरी कसैको चरित्रहत्या गर्न हुँदैन र पाइँदैन । त्यसो त यो निर्घणी काम कसले गरेको हो पत्तो लागिसकेको छ । एउटा समयमा त्यो पनि पर्दाफास होला । तर राजनीतिमा यति निर्घिणी काम कसरी गर्न सकिन्छ भन्ने प्रश्नले मलाई गाँजेको छ ।

 

यो कुराहरु बाहिर आएको केही समय बितिसकेको छ र पाठकपत्रका नाममा प्रकाशनको सिलसिला बढ्दै गएको छ । तर सम्बन्धित ३ जना नै पात्र यतिखेर मौन नै छन् । सिनियर ओभरसियर विनोद पौडेल यतिखेर जापानमा छन् । त्यही भएर उनीसँग कुरा हुन सकेन मेरो । राजाराम बुढाथोकीसँग कुरा भयो । उनी पौडेल आएपछि संयुक्तरुपमा यसको खण्डन गर्ने सोचमा रहेका बताउँदै थिए । बद्रि भट्टराई भने चिन्तित थिए । उनलाई पनि थाहा थियो यो कसको काम हो भनेर । यो विषयको जवाफ दिने तयारीमा रहेका बताए उनले । राजनीतिक प्रतिष्पर्धाभन्दा पनि चरित्रहत्या गरिएका कारण यो विषयलाई मौन बसेर सहन तयार छैनन उनी ।
त्यसो त राजनीतिलाई डर्टि गेम नै भन्छन् । जे पनि जायज हुने भएर नै पो हो कि । के जे पनि जायज हुन्छ राजनीतिमा ? व्यक्तिगत कुण्ठाका आधारमा चरित्रहत्या वा नैतिकपतन बनाउन वा भन्न पाइन्छ ? विना कुनै प्रमाण वा यथार्थ जे पनि भन्न गर्न पाइन्छ ? जे पनि लेख्न पाइन्छ ?
कोही पनि मानिस कसैलाई मन पर्नै पर्छ भन्ने केही छैन । अनबन हुनु स्वभाविक हो तर मन नपरेको वा राजनीतिकरुपमा तलमाथि परेको नाममा तथानाम गर्न पाइन्छ ? पाइदैन ।
पछिल्ला समय अनगिन्ति र असहज रुपमा यस्ता कृयाकलाप बढेको देखिन्छ । सामाजिक संजालको दुरुपयोग वा नानाथरी निस्किएका पत्रपत्रिका वा अनलाइनमा समाचार छाप्ने वा पाठक पत्र पठाउने नाममा मन नपरेका मानिसहरुको जे पायो त्यही प्रकाशनको सिलसिला बढ्दै गएको देखिन्छ । यसलाई रोक्न जरुरी छ । यस्तो कृयाकलापबाट समाज र राजनीतिलाई पर राख्न आवश्यक छ ।

 

तपाइँको प्रतिक्रिया ।