भारतको दाना नेपालको गाना गाउनेहरुका कारण मुलुक अस्थिरतातर्फ उन्मुख भइरहेको छ :- पहाडी
कपन अनलाइन
मिना ठकुरी
धनगढी, १९ माघ । युवा संघ नेपालका अध्यक्ष राजीव पहाडीले भारतको दाना खाएर नेपालको गाना गाउँनेहरुका कारण मुलुक अस्थिरतातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् ।
धनगढी उपमहानगरपालिकाको नबौं नगरसम्मेलनको बुधबार धनगढीमा उद्घाटन गर्दै अध्यक्ष पहाडीले भारतको दाना खाने नेपालको गाना गाएर कुर्चीमा बस्नेहरु नेपाललाई विखण्डन गर्न खोजिरहेकाले त्यो सपना नदेख्न चुनौती दिए ।
उनले अहिले संविधान कार्यान्वयन महत्वपूर्ण कुरा भएको बताउँदै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएर मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्ने खेल भएको टिप्पणी गरे । संविधान संशोधन गर्ने हो भने विखण्डनकारीहरुलाई सरकारले कारवाही गरेर देखाओस् उनले सिके राउतप्रति इंकित गर्दै भने ।
मेधशकेन्द्रित दलहरुलाई भुरेटाकुरेको संज्ञा दिँदै अध्यक्ष पहाडीले भने भारतीय नागरिकताधारीले मधेशमा एमालेलाई बाजाबजाएर विदाई गर्छौ भन्नु हास्यास्पद कुरा हो । नेकपा एमाले हिमाल, पहाड, तराई मधेशका सबै जनतालाई समान रुपमा हेर्नेपार्टी भएको बताउँदै उनले राष्टियताको सवालमा जति एमाले जिम्मेवार छ, त्यति अन्य दलहरु नभएको बताए । उनले अब आउने चुनावमा तराईलाई एमालेको लाल किल्ला बनाउन युवा संघ नेपालले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।
राष्टियताका सवालमा एमालेले लिएको अडानका कारण देशभर एमालेप्रति जनलहर बढेको दाबी गरे । नेकपा एमालेले तिनै तहको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा वकालत गर्दै आएको बताउँदै उनले भने, चुनावमा हार्ने डरले काँग्रेस, एमाओवादी केन्द्र लगायत मधेशबादी दलहरु निर्वाचनको मिति घाषणा पछि हट्दै गएको बताए ।
अब हुने जुनसुकै निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गराउनका लागि देशभर युवा संघ नेपालका कार्यकर्तालाई अध्यक्ष पहाडीले निर्देशन समेत दिए । उनले एमाओवादी केन्द्र निकट मानिने वाइसिएललाई मरेको स्यालको संज्ञा दिँदै प्रधानमन्त्री दाहालले वाइसिएललाई विउतिन भन्नु हास्यास्पद भएको टिप्पणी गरे । उनले नेपाल दरुण दललाई बूढो गोरु भएकोले हात खुट्टा बाँधेर घाँस खुवाएर पाल्नु बाहेक अर्को विकल्प नभएको बताए ।
उनले पछिल्लो पटक युवा संघका नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमण गरेर मार्ने, घाईते बनाउने जस्ता कार्य हुँदै आएकाले आई लाग्नेमाथि जाईलाग्न पछि नपर्न युवा संघलाई निर्देशन दिए । एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी हुँदै आएको बताउँदै अध्यक्ष पहाडीले त्यसको प्रहार युवा संघ माथि हुँदै आएको छ भने । यस्तो क्रियाकलाप फेरी दोहोरिए युवा संघले जुनसुकै बेला देशव्यापी आन्दोलनको आँधीबेहोरी ल्याउने अध्यक्ष पहाडीले चेतावनी दिए ।
कार्यक्रममा युवा संघका केन्द्रिय सचिव बचन सिंहले राष्टिय अस्मितामाथि चारैतिरबाट प्रहार भइरहेकोले त्यसलाई रोक्न युवा संघ तयार हुनुपर्ने बताए । उनले तिनै तहको निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन युवा संघ तयारी अवस्थामा हुनुपर्ने बताए ।
युवा संघ धनगढी नगर कमिटिका संयोजक विश्वास शाहको अध्यक्षतामा भएको कार्यक्रममा एमाले अध्यक्ष दीर्घ सोडारी, सचिव रणबाहदुर चन्द, युवा संघका राजेश खाती, केन्द्रिय सदस्य मदन रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।