मुखिया बदलेर देशको समस्या समाधान हुदैन :- नेता गुरुङ
एकेन्द्र महता / अछाम
माघ ११ अछाम नेकपा क्रान्तिकारी माओवादीका सेती महाँकाली ईञ्चार्ज कृष्ण गुरुङ (आस्मान) ले मुखीया बदलेर देशको समस्या समाधान हुन नसक्ने बताएका छन ।
पार्टी कामको शिलशिलामा अछाम पुगेका नेता गुरुङले मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वर्तमान राज्यब्यावस्थाले मुखीय परिवर्तन गर्ने बाहेक कुनैपनी जनपक्षिय कार्य नगर्ने बताए । उक्त पार्टीको केन्द्रिय सदस्य समेत रहेका नेता गुरुङले वर्तमान राज्यब्यावस्थाले बिभेदकारी नीति अवलम्वन गरेको भन्दै त्यसका बिरुद्ध क्रान्तिकारी माओवादी जनतामाझ आएको बताए ।
गुरुङले भुगोल, भाषा, संस्कृति र पहिचान नै राष्ट्रियता भएपनि एमालेको भन्ने राष्ट्रियताले यि सबै कुरालाई पञ्छाउन खोजेको बताए । एमालेको राष्ट्रवादले जनताको ठुलो हिस्सालाई दिग्भ्रमित पारेर कुहीरोको काग बनाँउन खोजेको तथा काँग्रेस र माओवादी केन्द्रको राष्ट्रिवादले सिक्किमीकरण र साम्राज्यवादी नीति अवलम्वन गरेको उनले उल्लेख गरे ।
राष्ट्रियताको सन्देश दिन, जनताको जनजीविकाको सवाललाई उजागर गर्न क्रान्तिकारी माओवादीले ३ महिने जनपरिचालन अभियान सञ्चालन गरेको नेता गुरुङको भनाई छ । अहिलेका संसदवादी दलले बुजीवादी राज्यब्यावस्थालाई मलजल गरिरहेको भन्दै गुरुङले त्यसको बिरुद्धमा क्रान्तिकारी माओवादीले अभियान चलाएको उल्लेख गरे ।
अर्को प्रसंगमा नेता गुरुङले हसिया हथौडा काम गरिखाने वर्गको प्रतिक भएको तर उक्त झण्डामुनी नेपालका कम्यूनिष्ट भनाँउदाहरु खरवपति भएर निदाईरहेको बताए । राष्ट्रियता जोगाँउन र वर्तमान राज्यब्यावस्था परिवर्तन गर्न क्रान्तिकारी माओवादी बिद्रोहको बाटोमा अगि बढिरहेको उनले बताए ।