वरिष्ठ संचारकर्मी दुर्गानाथ शर्माको संस्मरणात्मक कृति ‘छाल’ प्रकाशित
काठमाडौँ, ८ माघ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले लेख्नुभएको संस्मरणात्मक कृति ‘छाल’ आजदेखि बजारमा आएको छ । करिब ४० वर्षसम्म शर्माले सञ्चारका क्षेत्रमा बटुलेका अनुभवलाई पुस्तकमा समेटिएको छ । ‘गोरखापत्र’, ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’का माध्यमबाट गरिएको पत्रकारिता तथा समाचार सङ्कलनका सन्दर्भमा विभिन्न मुलुकमा पुगेका संस्मरण पुस्तकमा पाइन्छ ।
राप्रपाका अध्यक्ष कमल थापाले पुस्तकको विमोचन गर्दै पत्रकारिताका क्षेत्रमा शर्माले सँगालेका ज्ञान तथा विभिन्न राजनीतिक घटनाक्रममा विभिन्न अनुभवको सशक्त अभिव्यक्तिका रुपमा कृति आएको बताए । उहाँले दोस्रो जनआन्दोलनपछि राजनीतिलाई सही निर्देशन गर्न नसकिएकाले देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै राष्ट्रियताका विषयमा सबै दलका नेता एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्माले समाजलाई चनाखो बनाउने र समयसापेक्ष मार्गनिर्देश गर्नका लागि सञ्चार क्षेत्रको महत्व रहेको उल्लेख गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘वैदेशिक शक्तिले विभिन्न दललाई सङ्घीयताको विषय उठाउन लगाएकाले मुलुक अहिले विखण्डनको दिशातर्फ गइरहेको’ विचार व्यक्त गरे ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सञ्चार प्रविधिका बारेमा यथेष्ट ज्ञान दिने सो पुस्तक सञ्चार क्षेत्रमा लाग्नेका लागि विशेष उपयोगी रहेको बताए। लेखक शर्माले सरकारी सञ्चारमाध्यमको जिम्मेवारी तथा समाचार सम्पादनका क्रममा केही राजनीतिज्ञबाट परेको दबाबका बारेमा पनि उक्त कृतिमा उल्लेख गरिएको जानकारी दिए ।
फोटो: दुर्गानाथ शर्मा फेशबुक