बैंकद्वारा तीन अर्ब लगानी

कपन अनलाइन 

धनगढी, ७ माघ । कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म रु तीन अर्ब तीन करोड ५८ लाख कर्जा लगानी गरेको छ ।

बैंकको स्वर्ण महोत्सवका अवसरमा आज क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा रु दुई अर्ब ५१ करोड छ लाख साँवा असुली भएको छ ।

यस्तै बैंकले ब्याज असुली रु २९ करोड ४८ लाख २५ हजार तथा लगानी रकम रु पाँच अर्ब ३८ करोड ७१ हजार रहेको छ । उक्त अवधिमा रु १९ करोड ६० लाख ९८ हजार नाफा भएको बैंकले जनाएको छ । सबैभन्दा बढी लगानी थोक तथा खुद्रा व्यवसायमा रु दुई अर्ब सात करोड ३७ लाख ५६ हजार गरिएको छ भने सबैभन्दा कम विद्युतीय ग्यास तथा पानी शीर्षकमा रु एक करोड ७३ लाख २३ हजार लगानी भएको उक्त बैंकका क्षेत्रीय निर्देशक ध्रुवचन्द्र गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा ठूलो कर्जाको कारोबार गरेबापत गणेश इँटा उद्योग धनगढी र कालिका इँटा उद्योग सुखडलाई तथा ठूलो निक्षेप गरेबापत कैलाली बहुमुखी क्याम्पस र बैतडी पाटनकी मीना विष्टलाई कदरपत्रद्वारा सम्मानित गरियो । यस्तै बैंक कर्मचारी सङ्घले उत्कृष्ट काम गर्ने शाखा, २० वर्ष सेवा अवधि पु¥याउने कर्मचारीलाई समेत प्रशंसा पत्रद्वार सम्मानित गरिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।