भूकम्पको पीडा भुल्दै बरुवावासी आयआर्जनतर्फ सक्रिय
कपन अनलाइन
बरुवा (सिन्धुपाल्चोक): विसं २०७२ को विनाशकारी भूकम्पले जनधनको क्षति भएको सिन्धुपाल्चोकको विकट हिमाली गाविस बरुवाका वासिन्दा आयआर्जनतर्फ सक्रिय हुन थालेका छन् । भूकम्पका कारण जनधनको क्षति व्यहोरेका यहाँका बासिन्दा अहिले दुईवटा गैरसरकारी संस्थाको सहयोगमा व्यावसायिक कृषि तथा पशुपालनमा लागेका हुन् ।
भूकम्पपछि लामो समय गाउँ छोडेर राजधानी र लाङ्टाङ राष्ट्रिय निकुञ्जमा आश्रय लिएर बसेका यहाँका बासिन्दा ‘पिपुल इन निड’ र ‘ग्रामीण महिला सिर्जनशील परिवार’ नामक गैरसरकारी संस्थाले स्थानीय आमा कृषि सहकारीमार्फत विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेकाले उनीहरु गाउँ फेर्केर व्यवसायमा व्यस्त भएका हुन् ।
उक्त संस्थाले बरुवावासीका लागि ३० हजार अलैँचीका बिरुवा, एक चरणमा दुई लाख बिरुवा उमार्ने नर्सरीको व्यवस्था, १२० वटा उन्नत जातका बाख्रा, तीनवटा उन्नत जातका बोका, दुईवटा सामुदायिक भवन तथा सङ्कलन केन्द्र निर्माण र विभिन्न तालिम दिएर सहयोग गरेपछि कृषक सङ्गठित भएर आयआर्जन पेसातर्फ लागेको सहकारीका अध्यक्ष ग्याल्जेन लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार कृषकले उत्पादन गरेका कृषि उपजलाई सहकारीले खरिद गरी बजार व्यवस्थापनको जिम्मासमेत लिएको छ । लामाले रासस प्रतिनिधिसँग भन्नुभयो – “गाउँमै केही गर्नुपर्छ भन्ने हेतुले दीर्घकालीन सोच बनाएरै सहकारीमार्फत हामी व्यावसायिक आयआर्जनतर्फ लगेका हौँ, विदेश गएर बगाउने पसिर गाउँमै बगाउँछौँ ।”
ग्रामीण महिला सिर्जनशील परिवारले गाउँमै कृषि सहकारी खोलेर यसमार्फत व्यवसायतर्फ लाग्न आफूहरुलाई प्रेरित गरेको बताउँदै लामाले भन्नुभयो – “सुरुमा सिर्जनशील परिवारले नै जिल्ला कृषि विकास कार्यालयबाट प्राविधिक ल्याई गाविसका प्रारम्भिक हावापानी र वातावरण परीक्षणपछि व्यावसायिक बाख्रा पालनलगायतका तालिम र प्रशिक्षण दिनुभयो ।” लामाका अनुसार अहिले अलैँची र बाख्रापालनका अलावा गाविसमा दाँते ओखर, टिमुर र कागतीको नर्सरीसमेत विस्तार गरिँदैछ । कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक वडामा उपसमूह गठन पनि गरिएको छ ।
भूकम्पपछि विस्थापित भई पुनः गाउँ फर्केकालाई यस परियोजनाले निकै सहयोग गरेको बरुवा–३ का फुर्वा तामाङले बताउनुभयो । ‘पिपुल इन निड’ र ‘ग्रामीण महिला सिर्जनशील’ले छ महिनाको अवधिमा गरेको अनुगमनका क्रममा स्थानीयवासीले आयआर्जनको कार्यक्रममा प्राथमिकता दिन आग्रह गरेपछि परियोजना सञ्चालन गरिएको पिपुल इन निड की फिल्ड अधिकृत आस्था प्रधानाङ्गले जानकारी दिनुभयो । विनाशकारी भूकम्पका क्रममा बरुवामा मात्रै १२० जनाको मृत्यु भएको थियो भने वडा नंं ६, ७ र ८ मा बस्ती बसाल्न नहुने गरी जमिन चिराचिरा परेको थियो ।
बरुवाका गाविस सचिव खेमराज बुढाथोकीले उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको बताउँदै गाविसको तर्फबाट आर्थिक सहयोग उपलब्ध नगराएपछि कार्यक्रम सञ्चालनका लागि सहजीकरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “गाउँमै आयआर्जनको काम सुरु भएपछि अब गाउँबाट बिदेसिने युवाको सङ्ख्यामा पनि कमी आउने विश्वास लिएको छु ।” रासस