किशोरकिशोरी लागुऔषधको कुलतमा फस्दै
कपन अनलाइन
कञ्चनपुर: विद्यालय पढ्ने उमेरका किशोरकिशोरी लागुऔषधको कुलतमा फस्न थालेपछि कञ्चनपुरको झलारीका अभिभावक चिन्तित छन् । भारतीय निकटवर्ती बजारमा रहेका औषधि पसल र स्थानीय बजारमा रहेका निजी औषधि पसलबाट १२ वर्षदेखि १६ वर्षमुनिका किशोरकिशोरीले लागुऔषध खरिद गरी प्रयोग गर्न थालेपछि अभिभावक चिन्तित भएका हुन् ।
नेपालमा बेच्न प्रतिबन्धित गरिएका लागुऔषधका रुपमा प्रयोग हुने औषधि खुलेआम औषधि पसलमा बिक्री हँुदै आएकाले स्थानीय प्रशासनले कडा निगरानी गरी नियन्त्रण गर्नुपर्ने शिक्षिका धर्मा भण्डारीले बताउनुभयो । “किशोर अवस्थाका बालबालिका नशामा लठ्ठ परेका हुन्छन् अभिभावकले समेत चासो नदिँदा समस्या झनै विकराल बन्दै गएको छ” उहाँले भन्नुभयो । अभिभावकले बालबालिकालाई पढ्नका लागि विद्यालय पठाउँछन् । राजनीतिककर्मी लालबहादुर महराले भन्नुभयो, “बालबालिका कुलतमा फसेका कारण विद्यालय बाहिर नशामा डुबेका भेटिदा अभिभावक निकै चिन्तित छन् ।”
बालबालिकालाई कुलतबाट बचाउन अभिभाक सचेत हुनुपर्ने हुन्छ स्वाथ्यकर्मी गङ्गा बस्नेतले भन्नुभयो, “निजी र सामुदायिक दुबै विद्यालयमा लागुऔषधले पु¥याउने हानीबारे विद्यार्थीलाई सचेतनामूलक शिक्षा दिनुआवश्यक रहेको छ ।” आनीबानी, लवाइखवाइ र सङ्गतले समेत असर गर्ने भएकाले अभिभावकले बालबालिकाको बानी सुधार्नका लागि समेत घरबाटै प्रयास गर्नुपर्ने समाजसेवी दिलबहादुर बुढाले बताउनुभयो ।
लागुऔषधलगायतका अनैतिक कार्य गर्नेलाई प्रहरीले पक्राउ गरे राजनीतिक दबाब दिएर छोड्न बाध्य गराउने परिपाटीले समेत लागुऔषधको प्रयोगमा बढावा मिलेको पूर्व देखतभूली गाविसका अध्यक्ष तनुकलाल चौधरीले बताउनुभयो । “अभिभाकले बालबालिका आनीबानी सुधार्ने र लागुऔषध बिक्री गर्ने मेडिकलका सञ्चालकमाथि हँुदैसम्मको कानुनी कारबाही गर्नका लागि सबैले प्रहरीलाई साथ दिए मात्रै लागुऔषधको प्रयोगलाई नियन्त्रण गर्न सकिन्छ” उहाँले भन्नुभयो ।
दुई दिनअघि मात्रै इलाका प्रहरी कार्यालय झलारीमा पुग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रकाश साउद समक्ष समेत लागुऔषधको बढ्दो प्रयोग रोक्नका लागि यहाँका राजनीतिकर्मी, समाजसेवी, वुद्धिजीवी, व्यवसायीले आग्रह गरेका थिए । एक साताभित्रै परिवर्तनको अनुभूति हुने गरी लागुऔषध, अवैध मदिरा र देह व्यापार रोक्नका लागि काम गर्न उहाँले इप्रका झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिनुभएको थियो । इप्रका झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले लागुऔषधको अवैध कारोबार गर्ने र सेवन गर्नेको पहिचान गर्ने कार्य अगाडि बढाएको बताउनुभयो ।
लागुऔषधको प्रयोग गर्ने बालबालिकाको सङ्ख्या झलारीमा मात्रै तीसभन्दा बढिरहेको बताइएको छ । घरबाट लागुऔषध प्रयोग गर्न पैसा नपाइदा धेरै जनाले चोरी गरेर पनि पैसा जुटाउने गरेको स्थानीयवासीको भनाइ रहेको छ । रासस