निर्वाचनको मिति घोषणा गर्ने कुरामा सरकार गम्भीर नभएको नेपालको आरोप
कपन अनलाइन, काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनको मिति घोषणा गर्ने कुरामा सरकार गम्भीर नभएको बताएका छन् । आज भक्तपुरमा समय समाज साप्ताहिक पत्रिकाको १२औँ वर्ष प्रवेश एवम् ‘सपनाको राजधानी’ पुस्तकको विमोचन कार्यक्रममा नेता नेपालले सरकारले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए । निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्नुपर्नेमा उनले जोड दिए।
“प्रदेशको सङ्ख्या तय गरेर निर्वाचन क्षेत्र तयार गर्नेलगायत धेरै काम बाँकी नै छन्, यसमा सरकारको ध्यान जाओस्,” उनले भने । संविधान संशोधनको विषयमा कुरामा सरकार अल्झिएको उनको आरोप थियो । संविधान कार्यान्वयनका लागि चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने उनको भनाइ थियो । भारतमा समेत जातीय कुरा उठाउन नपाउने ऐन बनेको प्रशङ्ग कोट्याउँदै नेता नेपालले जातीय द्वन्द्व सिर्जना गर्ने र देशलाई अलग गर्ने धारणालाई स्विकार गर्ननसकिने बताए ।
कार्यक्रममा सांसदद्वय रामेश्वर ढुङ्गेल र केदार सञ्जेलले सरकारले निर्वाचनका कार्यक्रम छिटो अगाडि बढाउनुपर्नेमा जोड दिए। उक्त अवसरमा कान्तिपुर दैनिकका भक्तपुर समाचारदाता लीला श्रेष्ठलाई रु दुई हजार १२१ सहित सम्मान गरिएको थियो । यस्तै पत्रकारिता क्षेत्रमा क्रियासिल विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।