कृषिमा आत्मनिर्भरता देशको आवश्यकता ः मन्त्री तामाङ
कपन अनलाइन
काभ्रे: नेपाल कृषिप्रधानमूलुक भएकाले कृषिमा आत्मनिर्भरता देशको आवश्यकता भएको कृषिमन्त्री राधिका तामाङले बताउनुभयो । आज जिल्लाको उग्रचण्डी नालामा आयोजना गरिएको माटो परीक्षण कार्यक्रममा मन्त्री तामाङले कृषि मन्त्रालयले हालसम्म गरेका विभिन्न कार्यक्रममध्ये सुपरजोन कार्यक्रम अन्यभन्दा पृथक रहेको बताउनुभयो ।
नेपालका सबै क्षेत्रमा माटोको परीक्षणको पहुँच नपुगेको जानकारीमा आएपछि आफूले त्यसको आवश्यकता महसुस गरेरै सातवटै प्रदेशमा माटो परीक्षण गरी वातावरण सुहाउँदो खेतीमा सुपरजोनको सिद्धान्तअनुसार खेती प्रणाली सुरु गर्न लागेको उहाँले बताउनुभयो ।
मन्त्री तामाङले सुपरजोन कुनै दातृ निकायको सहयोगमा सञ्चालित नभई सरकारकै पहल, सोच र क्षमतामा यहाँसम्म ल्याउन सफल भएको बताउनुभयो । नेपालमा सुपरजोनमार्फत कृषि प्रणाली सुरु गरिसकेपछि विदेशिने युवाको सङ्ख्या घट्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले काभ्रेपलोञ्चोकमा कृषिको विकासका लागि कार्यालय सधैँ जिम्मेवार रहने बताउनुभयो । कार्यक्रमले जिल्लालाई आलुमा आत्मनिर्भर बनाइ उन्नत बीउको उत्पादन गरेर उत्पादन र उत्पादकत्वमा वृद्धि गरी औद्योगिकीकरण गर्ने लक्ष्य राखेको छ । उक्त आयोजना १० वर्षको रहेको छ । रासस