रामेश्वर फुयाँल, राष्ट्रियता र विकास
कपन अनलाइन
पौष २६, केशव पाठक ।
नेपाली राजनीतिमा चित्त बुझाउन सकिने खालका नेताहरुका अभाव मानिन्छ । नेताहरुको आम बानी तथा उनीहरुले बोल्ने कुराको तादात्म्यता नदेखिँदा उनीहरु सर्सर्ति नै ढोँगी झैँ लाग्छन् । आफ्नो धरातल बिर्सिएर अस्वभाविक बनावटी जीवनको मोहमा नेताहरु विस्तारै जनताको मनमा बास बस्न छाड्दै जाने रोगले ग्रस्त छ देश । नेताहरुको बोली र काममा देखिएको विशाल फरकले राजनीतिप्रति विशेषतः वर्तमान युवाहरु विस्मित छन् । नेता भन्ने बित्तिकै एक भ्रष्ट अनि पार्टीको दास चरित्रको बुख्याँचा याद आउने भएको छ अधिकांशलाई ।
‘तथापि नेपालमै केही यस्ता नेताहरु पनि छन् जसका कारण अझै यहाँ केही आशाका किरणहरु यथावत छन् । मानिसहरुलाई स्वदेशप्रतिको मोहमा प्रेरणा दिने काम उनीहरुबाट प्रत्यक्ष परोक्ष भैरहेको छ । यस्ता केही सिमित नेताहरुका कारण आज पनि मानिसहरु सकारात्मक बनौँ सबै नराम्रा छैनन् भन्ने गर्छन् । यो कोटीमा पर्ने थोरै नेताहरुमध्ये एक हुन् रामेश्वर फुयाँल । काठमाडौं आलापोट गाविसका फुयाँल संबिधानसभाको दोश्रो निर्वाचनबाट सांसद सदस्य भएका हुन् । राष्ट्रियताप्रतिको उत्कृष्ट सोचका कारण प्रख्यातसमेत रहेको फुयाँल पार्टीभन्दा माथि राष्ट्र हो भन्ने धारणाका व्याख्याता हुन् ।
जोरपाटीमा रहेको सांसदको कार्यालयमा देशको झण्डामुनी पार्टीको झण्डा र पार्टीको झण्डा मुनी पार्टीको चुनाव चिन्हको झण्डा राखेका छन् फुयाँलले । यो कार्यालयमा जाँने र पुग्ने सबैलाई यसको महत्व बताउँछन् उनी । सँधैजसो नेपाली पोशाकमा सजिएर हसिँलो भएर हिँड्ने रामेश्वर फुयाँल काठमाडौंको काँठ क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्ने थोरै पात्रहरुमध्ये प्रतिनिधि पात्र हुन् । गाविस अध्यक्षदेखि पार्टीको केन्द्रिय सदस्य तथा सांसदसम्मको यात्रामा उनी आफ्नो क्षेत्रमा सदाचारी, विकासप्रेमी, आत्मविश्वासी, दुरगामी सोचका लागि नै चिनिए । समाजको पछौटेपन र विकासहिनतासँग उनी सँधैै लडे र बिजेता बन्दै आएका छन् । विकासको पूर्वाधारका रुपमा उनले सँधै सडकलाई महत्व दिएका छन् भने सामाजिक मौलिकता र कृषि क्षेत्रमा फुयाँलले गरेका काम प्रशंसनीय मानिन्छन् ।’
सांसद रामेश्वर फुयाँल यतिखेर माघ १ गते हुने तारेभीर महोत्सवको बारेमा सोचमग्न छन् । यो महोत्सवले काठमाडौं उत्तरीभेकको तारेभीर क्षेत्रमा विकासको मुल फुटाउन चाहन्छन् उनी । दोस्रो तारेभीर महोत्सव हँुदै गर्दा यो महोत्सव दीर्घकालिनरुपमा चलोस् र त्यो क्षेत्र आन्तरिक पर्यटनको केन्द्र बनोस् भन्ने ध्येय छ उनको । सांसद कोषबाट बजेटको व्यवस्थासमेत गरेका छन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जसँगै रहेको तारेभीरमा उनले गएको वर्ष नै देशकै ठूलो झण्डा राख्ने व्यवस्था गरे । अहिले पनि मानिसहरु देशकै ठूलो झण्डामा मुनी बसेर फोटो खिच्न लालयित भएर तारेभीर पुगेको अनुभव सुनाउँछन् उनी । माघ १ गतेको तारेभीर महोत्सव उल्लेखनीय बनाएर फुयाँलको कागेश्वरी र मणिचुड महोत्सवको तयारीमा लाग्ने योजना छ । यो तीनैवटा महोत्सवको उनी सुत्रधार हुन्, योजनाकार हुन् ।’
तारेभीर महोत्सवलाई कसरी सबैको पहुँचमा पुर्याउने भन्ने बारेमा सोचिरहेका सांसद फुयाँलले मिडियासँग सहकार्य र पचारप्रसारमा व्यापक पहल गर्दैछन् । ठुलो नबन्ने, आफ्ना कुरा स्पष्ट भन्ने तथा विकासका काममा सबैलाई समाहित गराउने उनको विशेषताले उनी नजिक हुन पुग्ने जोकोही फुयाँलप्रेमी हुन पुग्ने धेरैले बताउने गर्छन् । पत्रकारजगत पनि मोहित छ उनीप्रति ।’
काठमाडौं जोरपाटीको भीडभाड र कोलाहलबीच सडक छेउकै एक घरमा सांसद फुयाँलको कार्यालय रहेको छ । नेकपा एमाले क्षेत्र नं. ३ को कार्यालयसमेत रहेको घरमा उनको सामान्य कार्यालय रहेको छ । संसद तथा अन्य विकासका कामहरुबाट पाएको समय उनी यही कार्यालयमा आएर भेटघाटमा बिताउँछन् । उनलाई भेट्न आउनेहरुसँग मात्रै हैन कतिपयलाई फुयाँल आफै भेट्न पनि बोलाउँछन् ।’
काठमाडौंको उत्तरपूर्वी गाविस आलापोट जुन अहिले कागेश्वरी मनहरा नगरपालिकामा समेटिएको छ, त्यहिँका सामान्य जीवनयापन गर्ने व्यक्ति हुन् रामेश्वर फुयाँल । उनको सरल जीवन पनि धेरैलाई उत्प्रेरणा हुने गर्छ । घरमा छँदा गाईको भकारो सोर्नेदेखि आमाको खुट्टामा तेल लगाउनेसम्मका काम गर्छन् उनी । आफ्नो मौलिकता, स्वभाव, चरित्र र जीवनशैलीलाई उनी अनावश्यक कठीन बनाउन चाहँदैनन् । म जे छु यस्तै छु, तपाइँले देखेको रामेश्वर फुयाँलमा बनावटी केही छैन, उनले भने ।’
घरमा बस्दा कोदाली लिएर खेतमा जानु वा बाटो बनाउनु निस्कनु रामेश्वर फुयाँलका जीवनमा कुनै ठूलो कुरा हैन तर नेपाली सांसद तथा नेताहरुको जीवनमा यो आफैमा अकल्पनीय कुरा हो । ढोँगी जीवनका पर्यायी बनेका नेपाली नेताहरुबीच फुयाँल साँच्चै पृथक छन् । हरेक महिनाको एकदिन सामाजिक श्रमदानमा निक्लने गर्छन् उनी । उनको निर्वाचन क्षेत्रको ग्रामीण इलाका अझै बाटोघाटोको विकासमा रुमिल्लिएको अवस्थामा छ । उनी सडक तथा बाटोघाटोका लागि मन्त्रालय, जिविस, योजना आयोग तथा नगरपालिकासँग नियमित भेटघाट वा संवादमा बसिरहन्छन् ।
सांसद फुयाँलका प्रयासमा अहिले गोकर्ण तारेभीर ११ किलोमिटर सडक कालोपत्रे हुन टेन्डर भएको छ । यो सडकका लागि करिब २९ करोड रुपैँया खर्च हुँदैछ । त्यसैगरी अर्काे महत्वपूर्ण मानिने बाटो जगडोल, नयाँपाटी, सुन्दरीजल, पुवार गाउँ, सातघट्टेबाट साँखु पुग्ने १० मिटर चौडाइको करिब २४ करोड लगानीको बाटो पनि टेण्डर भएको छ । यस्ता थुप्रै सडक योजनामा रामेश्वर फुयाँल जोडिएका छन् ।’
सांसद विकास कोषका रकम कुन कुन ठाउँमा कसरी खर्च गरिँदै छ भन्ने कुरा सार्वजनिक हुनुपर्छ भन्ने मान्यता छ उनको । आफूले चालु आर्थिक वर्षमा के के विषयमा कहाँ कहाँ खर्च गर्दैछन् भन्ने कुराहरुको टिपोट बोकेर हिँड्छन् उनी । आफू पुगेका कार्यक्रमहरुमा त्यो टिपोटलाई बाँड्ने गर्छन् । फुयाँलले सांसद कार्यालयको बजेट भौतिक पूर्वाधारमा मात्र नभै सामाजिक जागरण पनि खर्च गर्ने गरेका छन् । ग्रामीण पत्रकारिता तालिमदेखि होमस्टे तालिमसम्म उनको जागरण बजेटमा समेटिएको छ ।’
त्यसैगरी बालकथा तथा छन्द कविता तालिम जस्ता बौद्धिक कामका लागि फुयाँलले बजेट छुट्याएका छन् । आलापोट र भद्रावास क्षेत्रका नगरकोटी बस्तीका लागि नेवारी संस्कृति प्रवद्र्धन कार्यक्रमसमेतका लागि उनले बजेटको व्यवस्था गरेका छन् । समाजका हरेक कुरामा ध्यान दिनु त्यो क्षेत्रको सांसदको कर्तव्य हो फुयाँलले कपन अनलाइनलाई भने ।’
कागेश्वरीमा धातुको काग र जोरपार्टी जम्बुडाँडामा विशाल हनुमानको मूर्ति राखेर आन्तरिक धार्मिक पर्यटनलाई जोड दिन फुयाँलले दीर्घकालिन सोच राखेका छन् । यसपाला आफ्नो सांसद विकास कोषबाट बजेट विनियोजन गरेका छन् । यो बिउ छरेको हो, बिस्तारै यो अंकुरण हुँदै स्वरुप लिन्छ । ‘काम के गर्ने र त्यो काम कति महत्वपूर्ण छ भन्ने कुरा एउटा साँसदले खुट्याउन सक्नुपर्छ’ उनले थपे । फुयाँल भन्छन्, ‘मडिचुडदेखि तारेभीरसम्मको क्षेत्र आन्तरिक पर्यटनको हब हुन सक्छ र यो बनाउने यज्ञमा छु म’ । हरेक वर्ष संचालन हुन थालेको मणिचुड पर्यटन महोत्सव, कागेश्वरी पर्यटन महोत्सव र तारेभीर पर्यटन महोत्सव फुयाँलको पर्यटन हब बनाउने योजनाको प्रारुप हो । यी महोत्सवमा उनले सम्बन्धित सरकारी निकायका साथै होटेल यसोसियसन नेपाल, पर्यटन प्रतिष्ठान, पर्यटन बोर्डलगायतका संस्थालाई पनि सम्बन्धित क्षेत्रमा घुसाएका छन् ।’
नेपालमा गणतन्त्र आएपछि माओवादी पार्टीले देशको झण्डा परिवर्तनको कुरा उठ्दा उनी सारै बेखुशी भए । त्यसपछि उनले आफ्नै पार्टीभित्रबाट राष्ट्रिय झण्डाको अभियान चलाए । फुयाँलले शुरु गरेको यो अभियान अहिले एमालेको मौलिक अभियान भएको छ । अहिले पनि एमालेले गर्ने आन्दोलनलगायतका हरेक कार्यक्रममा राष्ट्रिय झण्डा देखिने गर्दछ । एमालेका सांसदहरुले राष्ट्रिय झण्डासहितको लोगो भएको व्याच लगाउँछन् । त्यतिमात्रै हैन फुयाँले ०६३ सालदेखि नै कहिँ पनि सम्बोधन गर्दा अन्त्यमा जय नेपाल भन्ने गर्छन् । उनी भन्छन् ‘जय नेपाल कुनै पार्टी विशेषको विषय हैन यो सम्पूर्ण नेपालीको नारा हो ।’
‘राष्ट्रियताको सबालमा अन्त्यन्त सजग रहने नेताका रुपमा चिनिने रामेश्वर फुयाँल पृथ्वीनारायण शाहको नेपाल राज्य एकिकरणलाई उच्च दर्जा दिन्छन् । उनकै देन हो यो झण्डा, आफ्नो कार्यालयमा रहेको झण्डा देखाउँदै फुयाँलले भने । ‘पृथ्वी नारायण शाहलाई हेर्ने दृष्टिकोण फराकिलो हुन आवश्यक छ । नेपाललाई नेपाल बनाउन उनको जति भूमिका अरुको छैन’ उनले थपे । नेपाली राजनीतिक इतिहासमा उनले मान्ने १० महत्वपूर्ण व्यक्तिहरुको शीर्षस्थानमा उनले पृथ्वीनारायण शाहलाई राखेका छन् । पौष २७ गते राष्ट्रिय एकता दिवश मनाउनु पर्ने धारण पनि राख्छन् फुयाँल ।
पृथ्वीनारायण शाहको अलावा विपि कोइराला, राजा महेन्द्र, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, डा हर्क गुरुङ र केपि ओलीलाई उनी सर्वकालिन महान व्यक्तिहरुको सूचिमा राख्छन् । फुयाँल भन्छन्, ‘यी व्यक्तिहरु चलेको हावा रोक्न सक्ने खुवी राख्थे ।’
उर्जाशील मात्रै नभै अध्ययनशील स्वभाव छ रामेश्वर फुयाँलको । शंकरदेव क्याम्पसबाट मास्टर डिग्री गरेका उनले कानुन पनि अध्ययन गरेका छन् । कुनै ताका गृह मन्त्रालयअन्तर्गत अफिसर रहेर सेवा गरेको अनुभव पनि उनीसँग छ । पछि कर्मचारी आन्दोलनमा उनलाई तत्कालिन गिरिजाप्रसाद कोइरालाको सरकारले निलम्बन गरेको थियो । ३५ सालदेखि कम्यूनिस्ट राजनीतिमा होमिएका उनी आफैले आयोजना गरेको चुनावी सभामा मनमोहन अधिकारी बोल्दा बोल्दै ढलेका थिए । फुयाँल सम्झिछन्, उनकै हातमा ढलेका थिए स्व. अधिकारी ।
‘जीवनमा राजनीतिक यात्राका थुप्रै आरोहहरु क्रमशः पार गरेका रामेश्वर फुयाँल समग्रमा विकासप्रेमी नेता हुन् । कुनै ताका आफ्नै पार्टीमा पनि उनलाई कम्यूनिस्टभन्दा पनि विकासे नेता भनेर आरोप लगाउँथे । विकासका लागि सन्काहा स्वभावका मानिन्छन् उनी । बौद्धदेखि ल्हासा सडकमार्गको कल्पना गरिरहेका छन् फुयाँल यतिखेर । काठमाडौंमा ५ वटा चक्रपथ र उपत्यकाका सबै खोलाहरुमा हरियालीसहितको बाटोको परिकल्पना ०५० साल अघि नै मदन भण्डारीको अगुवाई उनले देखेका थिए । राम्रो सपना ढिलै भए पनि पुरा हुने आशा राख्छन् उनी ।
‘समाजमा व्याप्त बिभिन्न विभेद, छुवाछुत, अशिक्षा र पछौटेपनसँग उनी चिन्तित छन् । यी चिजलाई बिकासको बाधक मान्छन् उनी । फुयाँलले ०५६ सालदेखि स्त्री भ्रुणहत्याको विरोधमा आफूलाई अगाडि बढाएका छन् । वर्तमान संबिधानमा यो लेख्न नसके पनि यो विषयको आन्दोलनमा उनी निरन्तर हिँडिरहेका छन् ।’
साहित्य लेखनमा समेत रुचि भएका फुयाँलले केही कविता तथा बालकथाहरु लेखेका छन् । हालै एक साहित्यिक कार्यक्रममा कवितावाचन गरिरहेको अवस्थामा उनी भेटिएका थिए । ‘समयाभाव भए पनि लेख्ने प्रयास गर्छु’ उनले भने । काँठ क्षेत्रका प्रतिनिधि व्यक्ति भएकाले काँठ सुगन्ध उनको बोलाइका कतिपय वाक्यहरुमा भेटिन्छन् । काँठ क्षेत्रको विकासमा कटिबद्ध रहेका फुयाँल अझै मन्त्री हुन पाएका छैनन् । नेता तथा सांसद मात्र हुँदा त यति धेरै काम र आकांक्षाका धनी छन् भने कुनै दिन मन्त्री बने भने फुयाँलले नेपाली समाजले याद राख्ने काम गर्ने कुरामा दुइमत राख्न सक्ने अवस्था छैन ।
-आशिष गुरागाइँको सहयोगमा