मौरीपालनमा आकर्षण बढ्दो

मौरीपालनमा आकर्षण बढ्दो

कपन अनलाइन 

बागलुङ: मौरीपालनमा किसानको आकर्षण बढेको छ । कम लगानी र खर्चमा मनग्य आम्दानी हुनथालेपछि मौरीपालन व्यावसायिक बन्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीका अनुसार जिल्लाभर पाँच हजार ६८६ घारमा व्यावसायिक मौरीपालन हुँदै आएको छ ।

 
दुई वर्षअघि २५ टन मह उत्पादन भएकामा गत आर्थिक वर्षमा २८ टन उत्पादन भएको उहाँले बताउनुभयो । मौरीपालनमा किसानलाई आकर्षित गर्न कार्यालयले घारमा ५० प्रतिशत अनुदान दिँदै आएको छ । गत वर्षसम्म २५ प्रतिशत अनुदान उपलब्ध गराएको थियो ।

 
कार्यालयले यस वर्ष थप ५०० घारमध्ये ३६० घार किसानलाई बाँडिसकेको छ । गत वर्ष पनि कार्यालयले अनुदानमा ५०० घार बाँडेको थियो । “मौरीको गोलासहितको घार पनि बाँड्ने गरेका छौँ,” अधिकारीले भन्नुभयो । सुन्तला बगैँचा भएका ठाउँमा मौरीको गोलासहितको घार वितरण गर्ने गरिएको छ ।

 
“किसानको माग पु¥याउन सकिएको छैन,” उहाँले भन्नुभयो । किसानले परम्परागत र उन्नत दुवै घारमा व्यावसायिक मौरीपालन गर्दै आएका छन् । अहिले करिब तीन हजार ५०० उन्नत घारमा मौरीपालन भइरहेको छ । परम्परागत घारको सङ्ख्या भने यकिन छैन । जिल्लामा बर्सेनि रु दुई करोड ५० लाखभन्दा बढीको मह बिक्री हुँदै आएको छ ।

 
जिल्लामा प्रतिकिलो मह रु ९०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ । अधिकांश उत्पादित मह जिल्लाभित्रै खपत हुन्छ । दगातुम्डाँडा गाविस– ८ राक्सेका मौरीपालक किसान दुर्गा अर्याल महको माग धान्न नसकिएको बताउनुहुन्छ । दुई वर्षअघि तीनवटा घारमा मौरी पाल्दै आउनुभएका अर्यालसँग अहिले २७ वटा घार छन् । सरकारी अनुदान पाएपछि उहाँले मौरीपालन विस्तार गर्नुभएको हो । जैदी, छिस्ती, सिगाना, मल्म, हटिया, दगातुम्डाँडा गाविस मौरीपालनका ‘पकेट क्षेत्र’ मानिन्छन् । रासस

तपाइँको प्रतिक्रिया ।