भूकम्पपीडितप्रति सरकार गम्भीर भएन ः राणा
कपन अनलाइन
मेलम्ची: राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले भूकम्पपीडितको पीडाप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ ।
आज राप्रपा मेलम्चीनगर कमिटीले आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाले पीडितका लागि तत्काल पुनर्वासका लागि कदम चाल्नुपर्ने सुझाव दिनुुभयो ।
अमेरिका र अस्ट्रेलियाको सहयोगमा र ग्रिनसिटी अस्पतालको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको थियो । पार्टी अध्यक्ष राणाले भूकम्पपछिको दोस्रो जाडो पनि पीडितले टहरामै बिताउन बाध्य हुन परेको बताउनुभयो ।
भोलिसम्म चल्ने उक्त शिविरमा ४७ विदेशी र १० नेपाली डाक्टरले उपचार सेवा दिँदै आएका छन् । शिविरमा स्त्री, बालरोग, आँखा तथा सामान्य रोगको उपचार गरिने आयोजकले जानकारी दिएको छ ।
शिविरमा उपचार हुन नसकेका आँखाका बिरामीलाई काठमाडौँमा लगेर उपचार गरिने राप्रपा मेलम्चीनगर कमिटीका अध्यक्ष फणीन्द्र दाहालले बताउनुभयो । रासस