एमाले रहेसम्म देश टुक्रन सक्दैन : उपाध्यक्ष गौतम

एमाले रहेसम्म देश टुक्रन सक्दैन : उपाध्यक्ष गौतम

कपन अनलाइन 

काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता तथा उपाध्यक्ष वामदेव गौतमले संविधानको रक्षा गर्न आफनो पार्टी आन्दोलनमा जानुपरेको बताएका छन् ।

 
शुक्रबार काठमाडौंमा आयोजना गरिएको विरोध प्रदर्शन सभाका लागि तयार गरिएको पार्टीको दस्तालाई बिहीबार निर्देशन दिँदै उनले संविधानको कार्यान्वयनका लागि एमाले आन्दोलनमा जानुपरेको बताएका हुन् ।

 
उनले मुलुक विखण्डनका लागि विभिन्न प्रयासहरु भएको उल्लेख गर्दै एमाले रहेसम्म कसैले पनि मुलुकलाई टुक्र्याउन नसक्ने बताए ।
नेता गौतमले जनता आफैंले बनाएको संविधानको रक्षा आफ्नै पार्टी नेतृत्वबाट मात्रै सम्भव रहेको दाबी पनि गरे ।

 
उनले अनेकौ षडयन्त्र चिर्दै जारी भएको संविधानको रक्षा गर्न सबै पक्षलाई आह्वान पनि गरे ।गौतमले संविधान कार्यान्वयन हुनै नदिने बाह्य षडयन्त्रलाई माओवादी नेतृत्वको सरकारले साथ दिएको भन्दै आक्रोश पनि व्यक्त गरे ।

 

 

उनले आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकारलाई कांग्रेस र माओवादी केन्द्रले जबर्जस्ती षडयन्त्रपूर्वक ढंगले हटाएको समेत बताए ।उपाध्यक्ष गौतमले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन सरकारलाई पुनः दवाव पनि दिए ।
सर्वाेच्च अदालतले दिएको आदेश पनि संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने आशयका साथ आएको उल्लेख गर्दै उनले अव निर्वाचनमा केन्द्रित हुन ढिलाई गर्न नहुनेमा जोड दिए ।

तपाइँको प्रतिक्रिया ।