अत्तरियामा अबैध भौतिक संरचना निर्माण बढ्दो

कपन अनलाइन 

मिन ठकुरी 

धनगढी, १८ पुस । कैलालीको अत्तरियामा सार्वजनिक तथा सामुदायिक वन अतिक्रमण गरी घर निर्माण हुनेक्रम बढ्दै गएको छ । ढलनिकासका लागि निर्माण गरिएका खोलानालाहरु मिचेर अबैध रुपमा पिलर सहितका ठूलठूला भौतिक पुर्वाधार अन्तर्गत निजी व्यवसायिक प्रयोजनका लागि भवन, सटर तथा घरहरु धमाधम घरहरु निर्माण भइरहेका हुन् । त्यसको विरुद्धमा वडा नागरिक मञ्च १३ की लक्ष्मी काफ्लेले सोमबार अत्तरिया नगरपालिका पुगी गुनासो गरेकी छिन् ।
अत्तरियाको सृजनशिल १३ बासबारी टोलमा नाला मिचेर भौतिक संरचना निर्माण भइरहेको र त्यसलाई तत्काल रोक्न नगरपालिकालाई ध्यानाकर्षण गराएको उनले बताइन् ।
नाला मिचेर भूमाफियाको अगुवाईमा चार÷पाँच वटा पिल्लरवाला घरहरु निर्माण हुँदैछन् त्यो नगरपालिकाले तुरुन्त रोक्नुपर्छ, होइन भने त्यसको विरुद्ध आफुहरु सशक्त संघर्षमा उत्रिने चेतावनी सोही टोलकी विष्णुमाया भण्डारीले दिइन् ।
नाला मिचेर धनु चौधरी, रामु चौधरी लगायतले संरचना निर्माण गर्न खोज्दा आफुहरुले नाला नमिच्न आग्रह गर्दा पनि उनीहरुले केही पनि हुँदैन् भन्दै हिडेको भण्डारी र काफ्लेले गुनासो गरेकी छिन् ।
अत्तरियामा खोलानाल मिचेरै ४०÷५० वटा घरहरु निर्माण भइसकेपनि नगरपालिकाले कुनै चासो नदिएको स्थानीयको आरोप छ । नाली तथा खोला किनारमा बृक्षारोपण गर्छौ भन्दा हामीलाई गर्न दिएनन्, तिनै खोलानाला मिची अहिले नीजि प्रयोजनका व्यापारिक सटर तथा घर निर्माण भइरहेका छन, भण्डारीले भनिन ।
यस विषयमा अत्तरिया नगरपालिकाका कार्यकारी अधिकृत मोहनप्रसाद मरासेनी काठमाण्डौं गएकाले कार्यालयका लेखा अधिकृत डिल्लीराज भट्टले यस्तो देखिएमा नगरपालिकाले आवश्यक कदम चाल्ने बताए । उनले अहिले कार्यकारी अधिकृत बाहिर भएकाले केही भन्न सकिन्न तर अत्तरियामा खोलानाला तथा सार्वजनिक जग्गा मिचेर घर, सटर तथा टहरा निर्माण गरी अन्य व्यक्तित्वहरुलाई बेच्ने क्रम बढेको गुनासो कार्यालयमा आउने गरेको बताए ।
नक्सापास समेत नगरेको अवस्थामा अहिले नै जग्गा मिच्दै गएको गुनासो दैनिक कार्यालयमा आउने गरेको लेखा अधिकृत भट्टले जानकारी गराए ।
२०७१ सालमा स्थापना भएको अत्तरिया नगरपालिका स्थापना यता सबै भन्दा बढी गुनासा सार्वजनिक, सामुदायिक तथा खोलानाला मिचेर भौतिक संरचना निर्माणका गुनासाहरु बढ्ने गरेको कार्यालयको भनाइ छ ।
विभिन्न सुकुम्बासी तथा मुक्तकमैयाहरुको नाममा हुकुमबादीहरुले खोलानाला तथा अत्तरियाको पहाड रोड, पुर्वरोड, धनगढी रोड तथा महेन्द्रनगर रोड, भित्री टोलसम्मका ऐलानी जमिनमा भौतिक संरचना निर्माण गरी विक्री गर्ने क्रम बढ्दै गएको नगरबासीको गुनासो छ ।
७५ प्रतिशत ऐलानी जमिन रहेको अत्तरिया क्षेत्रमा नगरपालिका स्थापना यता मनलागी रुपमा जग्गा अतिक्रण गर्ने क्रम नरोकिएपछि स्थानीय त्यसको रोकथामका लागि नगरपालिका, प्रहरी कार्यालय तथा प्रशासन सम्म पुग्ने गरेका छन् । मापदण्ड विपरित नक्सापास नै नगरी भौतिक संरचना निर्माण हुँदा समेत नगरपालिकाले केही गर्न नसकेको स्थानीयहरुको गुनासो छ ।

 

तपाइँको प्रतिक्रिया ।