विनोद चालिसेको संगठन र विकास केन्द्रित भेला
कपन अनलाइन
गुट तथा विवादमा रुमल्लिएको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ मा विकासनिर्माण, संगठन तथा स्थानीय निकाय सम्बन्धि भेला हुन थालेको छ । नेका क्षेत्र नं ४ क्षेत्रीय सचिव विनोद चालिसेले हालै बुनपा र महानगरका वडाहरुका इकाई सभापतिसम्मिलित एक भेला आयोजना गरेका छन् । नेपाली कांग्रेस सक्रिय छ भन्ने कुरा तल्लो तहसम्म पुगोस् भन्ने हेतुले सो जानकारीमूलक कार्यक्रम राखिएको चालिसेले बताए ।
विकास निर्माणमा नेकाले गरेका कामहरु तथा संगठनलाई कसरी महत्वपूर्ण बनाउने बारे सो भेला केन्द्रित रहेको चालिसेले कपन अनलाइनलाई बताए । बुनपाका १९ वडामध्ये १७ वटा वडा सभापति वा प्रतिनिधि र ४ वटा महानगरपालिकाका वडा सभापतिहरुका साथमा क्षेत्रीय सदस्य र जिल्ला सदस्यहरुको भेलाले क्षेत्र नं. ४मा सांसद गगन थापाले गरेका विकास निर्माणका बारेमा पनि छलफल भएको थियो ।
भेलामा चालिसेले सांसद थापाले गरेका विकास निर्माणका कामहरु तथा आगामी दिनमा गर्न लागिएको योजनाहरु सहभागिहरुलाई बाँडेका थिए । चालिसेले भेलामा नेकाका सांसदले गरेका विकास निर्माणका कामहरु जनतालाई सूसुचित नगर्दा जनतामा कांग्रेसले गरेको कामका बारे जानकारी हुन नसकेको बताएका थिए ।
कार्यक्रममा आसन्न स्थानीय निकाय चुनावमा नेकाको अवस्था र कसरी अझै जितन्मुख बनाउने बारे पनि छलफल भएको चालिसेले कपन अनलाइनलाई बताए । कार्यक्रममा सहभागि इकाई सभापतिहरु संगठनको अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पूर्व क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ, पूर्व क्षेत्रीय सचिव श्यामकृष्ण संगतलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । भेलाले पार्टीभित्र देखिएको गुटगत समस्यालाई हल गर्नुपर्ने र पार्टी एक भएर हिँड्न सके क्षेत्र नं. ४ मा नेका अजेय शक्ति भएको निष्कर्ष निकालेको थियो ।