उपत्यका लोडसेडिङ मुक्त भैसक्यो अब देश नै लोडसेडिङरहित हुने
कपन अनलाइन
काठमाडौं, पौष १७ ।विश्वमै लोडसेडिङको देश भनेर परिचय बनिसकेको नेपाल अब लोडसेडिङमुक्त हुने भएको छ। भारतबाट आयात भएका र निजी क्षेत्रबाट केही महत्वपूर्ण मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएपछि मुलुक लोडसेडिङ मुक्त हुने भएको हो। भारतबाट ल्याइएको बिजुली शनिबार रातिदेखि राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ।
भारतबाट ल्याइएको र नेपालमा मादी खोलाबाट निकालिएको समेत ५३ मेगाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो। बिजुली थपिएसँगै मुलुकभर लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने अनुमान भएको हो । यद्धपि बिद्युत प्राधिकरणले अझै यो बारे केही बताएको छैन ।
मुलुकलाई लोडसेडिङमुक्त बनाउने अभियानअन्तर्गत बिजुली थप गरिएको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए। ५३ मेगावाट बिजुली थपिएपछि अब लोडसेडिङ हुने सम्भावना नरहेको सहसचिव घिमिरेले बताए। ‘उपत्यकालाई लोडसेडिङमुक्त नै पारेका छौं,’ उनले भने, ‘उपत्यका बाहिर पनि क्रमशः लोडसेडिङमुक्त बनाउने अभियानमा लागेका छौं।’
२५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजनाबाट अहिले १३ मेगाबाट मात्र बिजुली उत्पादन हुने जानकारी उनले दिए। ‘भारतबाट यो महिना ४० मेगावाट थपियो,’ उनले भने, ‘अर्को महिना पुनः ४० मेगावाट थपिन्छ।’ पछिल्लो समय देशलाई उज्यालो बनाउन ऊर्जा मन्त्रालय र मातहतको विद्युत् प्राधिकरण सक्रिय छन्। लोडसेडिङमुक्त अभियान सफल पार्न भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको हो।
भारतबाट शनिबार राति आएको ४० मेगावाटबाहेक थप ४० मेगावाट बिजुली ल्याउन सकिए लोडसेडिङ सामना गर्नुनपर्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्।अघिल्लो साता थप बिजुली ल्याउनेबारे नेपाल र भारतबीच प्रारम्भिक सहमति भएकाले अन्तिम टुंगो लगाउन ऊर्जा टोली भारत गएको थियो । टोलीले भारतबाट थप विद्युत ल्याउने सहमति तथा ट्रान्समिसन लाइन र अन्य पूर्वाधार विस्तारबारे निर्णय गर्ने सहमति गरेको छ।