चर्चामा होमनाथ तिमिल्सिना र शम्भु भट्टराई

चर्चामा होमनाथ तिमिल्सिना र शम्भु भट्टराई

कपन अनलाइन, २७ मंसिर, २०७३


स्थानीय निकाय चुनावका लागि राष्ट्रियरुपमा दलहरु सहमतितिर लम्किरहेका बेला देशभर स्थानीय निकायको बनावट र चुनावी परिचर्चा शुरु भएको छ । देशकै नवनिर्मित नगरपालिकाहरुमध्ये जनसंख्याको आधारमा ठूलो मानिएको बुढानिलकण्ठ नगरपालिकाको वडाहरुको संरचना र दलगत चुनावी तयारी एकसाथ चर्चामा रहेको छ । बुनपा यतिखेर १९ वटा वडामा बिभाजित भए पनि अब १३ वटा मात्र वडामा सिमित हुने विषय उठिरहेको छ ।
बुनपा १३ वा १९ जति वटा वडा भए पनि यो नगरपालिकामा दलहरु आन्तरिकरुपमा चुनावी सरगर्मीमा बिस्तारै लाग्न थालेका छन् । राष्ट्रिय राजनीतिमा स्वास्थ्य मन्त्री गगन थापाको क्षेत्र भनेर चिनिने बुनपाको अधिकांश क्षेत्र काठमाडौं क्षेत्र नं. ४ मा पर्दछ । गगन थापाको क्षेत्र भएकाले नेपाली कांग्रेसलाई यो क्षेत्रमा बलियो बताइने गरिन्छ । यद्यपि साविक ६ वटा गाविस मिलाएर बनेको यस नगरपालिकाका साविक गाविसहरुमा ०५४ सालको निर्वाचनमा ६ वटैमा एमाले बिजय भएकाले स्थानीय राजनीतिमा एमालेको वर्चस्व राम्रो रहेको पनि बताइन्छ । कपन अनलाइनले केही समय अघि गरेको सर्वेक्षणमा पनि यी दुई पार्टीको नै जोडदार प्रतिष्पर्धा रहने देखिएको थियो । तथापि दुवै पार्टी भित्र आन्तरिक खिचातानी व्यापक भएकाले सोचेको भन्दा भिन्न नतिजा आउने सम्भावना पनि व्यापक मानिएको छ ।
बुनपाभित्रको वडा नं. १४ यस नगरपालिकाको दोस्रो धेरै जनसंख्या भएको वडा हो । साविक कपन गाविसको वडा नं. १ का करिब ५००० मतदाताको मतदानले नगरपालिकाको मेयर उपमेयरको जीतहारको संभावना निर्धारण गर्नेछ भने यस वडाको वडाध्यक्ष स्वयम् शक्तिशाली हुने मानिन्छ ।
बुनपाको महत्वपूर्ण मानिएको यस वडा नं. १४ मा दलहरु आन्तरिकरुपमा आफ्नो स्थानीय स्वरुपको तयारीमा जुट्न थालेका देखिन्छन् । कपन अनलाइन गरेको केही समय अघिको सर्वेक्षण र बस्तुस्थिति दुवैले यस वडामा नेपाली कांग्रेस र एमालेको टक्कर हुने देखिन्छ । यस वडामा नेपाली कांग्रेसका तर्फबाट होमनाथ तिमिल्सिना र एमालेको तर्फबाट शम्भु भट्टराईको नाम वडाध्यक्ष पदमा चर्चामा आएको छ । व्यक्तिगत तथा पार्टीगत दुवै जनाधारलाई हेर्ने हो भने कुनै ठूलै परिवर्तन नभए वडा नं. १४ मा तिमिल्सिना र भट्टराइ नै एकआपसमा चुनावी मैदानमा भिड्ने छन् ।

 

०५४ को स्थानीय चुनावमा एमालेले जितेको यस वडामा पछिल्ला संबिधानसभा निर्वाचनहरुमा नेपाली कांग्रेसले राम्रो प्रदर्शन गर्दै आएको छ । नेपाली कांग्रेसभित्र आन्तरिक घात भएन भने यो वडामा नेकाले जित्ने संभावना धेरै देखिएको सर्वेक्षण र वस्तुस्थितिले देखाए पनि नेकाको १३ महाधिवेशनपछि देखिएको अन्तरपार्टी गुटगत बिभाजनले नेकालाई पराजय उन्मुख बनाउन सक्ने तर्क पनि सतहमा छ । त्यसैगरी एमालेभित्रको ओली र नेपाल गुटको असर वडामा पर्यो भने त्यसले पार्ने असर पनि महत्वपूर्ण मानिन्छ । यस वडामा सर्वसम्मत हुन सक्ने नेकाका तर्फबाट होमनाथ तिमिल्सिना र एमालेको तर्फबाट शम्भु भट्टराई मानिए पनि एमालेले पुराना कार्यकर्ता देवेन्द्र थापालाई पनि वडाध्यक्षको उम्मेदवार बनाउन सक्ने चर्चा चलेको छ ।
नेका र एमालेका साथै माओवादी केन्द्र पनि चुनावी रणनीतिमा वडावडामा परिचालित देखिन्छ । यी तीनवटा पार्टीहरुमध्ये माओवादी केन्द्र बढि सक्रिय देखिएको । युवाहरुलाई आफ्नो पार्टीभित्र तान्न मात्र नभै अरु पार्टीका व्यक्तिहरुलाई आफूतिर आकर्षित गर्न बुनपा माओवादी केन्द्रका संयोजक रविन अधिकारी आफै ठुला वडाहरुमा सक्रिय देखिएका छन् । विकास निर्माणमा अरु पार्टीका प्रतिनिधिभन्दा अब्बल भनेर चिनिएका अधिकारीको सक्रियताले नेका एमाले र राप्रपा सबैलाई धेरथोर असर परेको पनि देखिन्छ । माओवादी केन्द्रले यस वडामा कसलाई उम्मेदवार बनाउने भन्ने चर्चा नभए पनि माधव भट्टराई वा रामसुन्दर अधिकारीलाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । राप्रपा तथा नयाँशक्ति पार्टी भने चुनावी सेरोफेरोको जोडघटाउमा लागेको देखिदैन । यो वडामा राप्रपाको केही मजबुत भोट रहेको मानिन्छ ।

तपाइँको प्रतिक्रिया ।