माछा मार्न दिइनुपर्छ ः बोटे समुदाय

माछा मार्न दिइनुपर्छ ः बोटे समुदाय

कपन अनलाइन, हेटौँडा, २३ मङ्सिर ।

मकवानपुरको मनहरि गाविसका बोटे समुदायले आफ्नो परम्परागत पेसा रोक्न नहुनेमा जोड दिएका छन् ।

रमौली प्रतापपुरमा बस्दै आएका उनीहरुले आफ्नो परम्परादेखिका जीविकोपार्जनका लागि आधारभूत आवश्यकताको माग राख्दै आज पर्सा वन्यजन्तु आरक्षणको कार्यालयमा मागपत्र बुझाएका हुन् ।

दैनिकी गुजाराका लागि जङ्गली कन्दमूल खोज्ने र बालुवा चाल्ने कार्य गर्दै आएका उनीहरुले माछा मार्न नपाएकामा असन्तुष्ट व्यक्त गरेका थिए ।

बालुवा चाल्ने कार्य गर्दै आउनुभएकी कान्छीमाया बोटे भन्नुहुन्छ “निकञ्जमा बस्नेले त बालुवा चल्ने, सुन चाल्ने र माछा मार्ने गर्दा कसैले रोक्दैनरे, हाम्ले नि पाउनुप¥यो नि त, पुर्खादेखी गर्दैआएको काम हो क्यार ।”
बोटे समाज जिल्ला समन्वय समितिका प्रतिनिधि दिलबहादुर बोटेले कानुन एउटै भए पनि कार्यान्वयन भने ठाउँ र व्यक्तिअनुसार भिन्नाभिन्नै भएकाले आफूहरु त्यसको सिकार हुनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कि त हामीलाई सीप सिकाउनुप¥यो, हैन भने परम्परागतरुपमा गर्दै आएको पेसा त गर्न दिनप¥यो नि ।”

पर्सा वन्यजन्तु आरक्षको कार्यालयका निमित्त प्रमुख शिवनारायण शाहले सो समुदायको मागपत्रलाई पूर्णरुपमा कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मागपत्रमा माछा मार्ने अनुमतिपत्र उपलब्ध गराउनु पर्ने, परम्परागत पेसा व्यवसायको संरक्षण र प्रवद्र्धधन हुनुपर्ने, भूमिहीन बोटेलाई जीविकोपार्जनको वैकल्पिक पेसा र व्यवसायका लागि उचित सहयोग हुनुपर्ने, बोटेको बस्तीको दिगो पूर्वाधार विकास गरी पर्यापर्यटनको विकास र प्रवद्र्धनमा ध्यान दिनुपर्ने, आरक्ष भित्रको माछा पोखरी व्यवस्थित हुनुपर्ने, आफ्ना बालबलिकालाई उचित शिक्षाको व्यवस्था हनुपर्ने, बैलल्पिक रोजगारीको व्यवस्था हुनुपर्ने जस्ता कुरा उल्लेख छ ।
रासस

तपाइँको प्रतिक्रिया ।