एपिएफ फाइनलमा

कपनअनलाइन, सुरुङ्गा(झापा), ९  मङ्सिर ।

झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत हिजो  भएको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ फाइनलमा पुगेको छ ।

सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता चौथो संस्करणअन्तर्गत हिजो  भएको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेलको निर्णय ट्राइबेकरबाट भएको थियो । जसमा एपिएफले पुलिसलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको थियो ।

एपिएफका नवीन लामा, आदित्य चौधरी, मिलन राई, पासङ लामा र रञ्जन विष्टको प्रहार गोलमा परिणत भयो । पुलिसका विक्रम धिमाल, दिनेश गुरुङ, तेज तामाङ र दिनेश राजवंशीले गोल गरे भने बुद्ध लामाले पोष्ट बाहिर प्रहार गरेका थिए ।

बिहीबार रुपन्देही–११ र मनाङ मस्र्याङ्दीबीचको खेलमा विजयी हुने टोलीसँग एपिएफले फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपिएफका राजेन्द्र रावल म्यान अफ म्याच घोषित भए । प्रतियोगिताको विजेताले रु तीन लाख ५१ हजार १११ र उपविजेताले रु दुई लाख ५१ हजार १११ पाउने आयोजक सुरुङ्गा जेसीजका अध्यक्ष भीम भट्टराईले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।