चितवन कृष्णसारका लागि उपयुक्त
कपन अनलाइन, चितवन, २९ कात्तिक ।
दुर्लभ एकसिङ्गे गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गर्दा निकै विरोध खेपेको निकुञ्जले अन्य निकुञ्जबाट दुर्लभ वन्यजन्तु चितवन ल्याउने विषयलाई केन्द्रित बनाएर अध्ययन गर्न थालेको छ ।
बाह्रसिङ्गे र अर्नाका लागि खुल्ला खोर बनाउन थालिसकेको छ भने लोपोन्मुख कृष्णसारका लागि पूर्वी चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनको खुल्ला चौर उपयुक्त हुने निकुञ्जको निष्कर्ष छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार खुल्ला घाँसे मैदान र ठाउँठाउँमा अग्लो ढिस्को भएको क्षेत्र कृष्णसारका लागि उपयुक्त हुन्छ । हाल बर्दियाको गुलरिया नगरपालिकाको खैरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा ३०० भन्दा बढी कृष्णसार रहेका छन् ।
विसं २०७१ सालको बाढीले ४० वटा कृष्णसार बगाएर मरेपछि शुक्लाफाँटामा संरक्षण गरिँदै आएकामा थप कृष्णसार लगिएको थियो । शुक्लाफाँटामा हाल ५० भन्दा वढी कृष्णसार छन् ।
एकैस्थानमा दुर्लभ वन्यजन्तु हुँदा दैवी प्रकोप तथा महामारी रोगबाट एकैपटक ठूलो नोक्सानी हुनसक्ने हुँदा वैकल्पिक वासस्थानको विकासका लागि चितवन उपयुक्त रहेको कँडेलले बताउनुभयो । शुक्लाफाँटामा पनि खुल्ला खोरमा कृष्णसार रहेको भन्दै उहाँले चितवनमा पनि खुल्ला खोरमा राख्न सकिने बताउनुभयो ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण चितवनमा कृष्णसार संरक्षण गर्न सकेमा पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने पर्यटनकर्मीको भनाइ छ । वन सचिवसहितको मन्त्रालय र विभागको टोलीलाई समेत सो क्षेत्रको ज्ञान भएकाले यहाँका पर्यटन व्यवसायीले यो विषयमा जोड गरेमा चितवनमा कृष्णसार ल्याउन सहज हुने देखिएको छ ।
दुर्लभ एकसिङ्गै गैँडासहितका वन्यजन्तुका कारण चितवन राष्ट्रिय निकुञ्जमा बर्सेनि दुई लाखको हाराहारीमा स्वदेशी एवम् विदेशी पर्यटक आउँछन् । रासस