कर्माछिरिङ शेर्पाको परीक्षा भोलि, भेटघाटमा व्यस्त !
कपन अनलाइन, कात्तिक ७, २०७३
अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयन भोलि कार्तिक ८ गते हुने भएको छ । गणेश थापाको २० वर्षीय एकतान्त्रिक नेतृत्वबाट पहिलोपटक निर्वाचत पद्धतिमा हुने नयाँ नेतृत्व चयनमा भोलिका दिन कर्माछिरिङ शेर्पा र नरेन्द्र श्रेष्ठ आमनेसामने हुने छन् । भोलि दिनभर हुने नयाँ नेतृत्व चयनसँगै नेपाली फुटबलले गति लिने विश्वास गरिएको छ । अध्यक्ष पदका दावेदारहरुमध्ये कर्माछिरिङ शेर्पालाई संभावित विजेताको रुपमा हेरिएको छ । शेर्पा नेपाली फुटबल क्षेत्रको भ्रष्टाचार बिरोधी अभियानका अभियान्ता भएकाले देशभर उनको पक्षमा माहोल बनेको बताइन्छ । स्पष्ट योजना र एजेण्डा बोकेर अगाडि बढेका शेर्पालाई नरेन्द्र श्रेष्ठले चुनौति दिएका छन् । श्रेष्ठ गणेश थापाको पपेटको रुपमा उम्मेदवार बनेको सर्वत्र चर्चा छ । गणेश थापाको उम्मेदवार भनेर चर्चित बन्दा श्रेष्ठलाई चुनावी प्रचार गर्न समेत गरो भएको बताइन्छ ।
नेपाली खेलकुद क्षेत्रको सर्बाधिक महत्वपूर्ण संस्था भएकाले यस संस्थाको नेतृत्व प्राप्त गर्न जो कोही जे सुकै हद पार गर्न तयार भएको अवस्थामा शेर्पाले आफ्ना पक्षधर भोटर्सहरुसँग सामुहिक भेट गरेका छन् । राजधानीको गोल्फुटारमा भएको भेटघाटमा आफ्ना भोटर्सहरुबीच धागोको जालो बनाएर नेपाली फुटबल विकासको जाली बुनेर सकारात्मक सन्देश दिएका छन् शेर्पाले । उनको प्रयास र प्रयोगलाई चौतर्फि समर्थन र प्रशंसा गरिए पनि अन्ततः निर्वाचनमा भोट पाएपछि बिजेता हुने भएकाले भोलि साँझसम्म सबैले कुर्नु पर्नेछ ।
यसैबीच अध्यक्ष पदको उम्मेदवारबाट नाम झिकेका मनाङमस्र्याङदी क्लबका पूर्व अध्यक्ष टासी घलेलाई मानार्थ अध्यक्ष बनाउन शेर्पा र श्रेष्ठ दुवै तयार भएको समाचार प्राप्त भएको छ । मानार्थ अध्यक्षको काम, कर्तव्य तथा अधिकारका बारेमा नखुलाइएको समाचार अनुसार घलेलाई मानार्थ पद दिन दुवै उम्मेदवार राजी भएका छन् ।