सिरिया सङ्कट समाधान सैन्य उपायबाट हुदैन ः राष्ट्रसङ्घ प्रमुख
संयुक्त राष्ट्रसङ्घ, ५ कात्तिक ।
संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले सैन्य उपायबाट सिरिया सङ्कट समाधान नहुने बताउनु भएको छ ।रसियाले एकपक्षीय रुपमा गरेको युद्धविरामको स्वागत गर्ने क्रममा बिहीबार उहाँले शान्तिप्रक्रियाबाट नै सिरियामा जारी द्वन्द्वको समाधान खोज्नु पर्ने विषयमा जोड दिनु भएको छ ।
महासचिव बानले पूर्वी एलेप्पोमा पूर्ण मानवीय सहयोगको आवश्यकता रहेको बताउनु भएको छ । उहाँका अनुसार, गत सेक्टेम्बर २३ देखि हालसम्म सिरियाको एलेप्पोसहरमा जारी द्धन्द्धमा परी ५०० जनाको मृत्यु हुनुको साथै अन्य २ हजार जना घाइते भएका छन् । झण्डै दुई लाख ७५ हजार नागरिक द्धन्द्धका कारण प्रभावित भएको पनि राष्ट्रसङ्घको अनुमान रहेको छ । “अवको मुख्य विषय भनेकै राजनीतिक रुपान्तरण गर्नु हो । त्यसका लागि सरोकारवालाहरुको संयुक्त जिम्मेवारीलाई मेरो पूर्ण सहयोग रहन्छ ,” महासचिव बानले भन्नुभयो ।
सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनले पछिल्ला कैयौँ वर्षदेखि गृहयुद्धको रुप लिएको छ ।जारी गृहयुद्धको क्रममा आइएस जिहादी समूह, अल कायदा र कुर्दिस लडाकूहरुको बिगबिगी जारी रहेको बताइन्छ । यसको कारण छिमेकमा रहेका टर्कीगायतका देशहरुको सिमानामा हिंसा पनि बढेको पाइन्छ ।
सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसामा परी दुई लाख ९० हजार भन्दा बढी व्यक्तिको निधन भएको छ । रासस ÷सिन्ह्वा