‘रङ्को गीत’ चित्रकला प्रदर्शनी सुरु
कपन अनलाइन /काठमाडौँ, २५ भदौ ।
प्राज्ञ रमेश श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘रङ्हरुको गीत’ आजबाट राजधानीमा सुरु भएको छ । चित्रमा दैनिक जीवनका भोगाइ, शान्ति, देशको वर्तमान अवस्था, धर्म र नारीत्वका विषयलाई प्रस्तुत गरिएको छ ।
नेपाल कला परिषद्मा आयोजित प्रदर्शनी यही भदौ ३० गतेसम्म चल्नेछ । प्रदर्शनीमा ५५ वटा चित्र राखिएका छन् । चित्रकलाको उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठले चित्रलाई कवितामय बनाएको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “कलाकारले साहित्य, चित्रकला, नाट्य, गायन, प्रहसन, हास्यका रुपमा दर्शक र स्रोतालाई मनोरञ्जन र सन्देश दिएको हुन्छ ।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का कुलपति रागिनी उपाध्यायले श्रेष्ठका चित्रमा रङ्ग र गीतको समन्वय गरिएको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कला, साहित्य र सङ्गीतको समन्वय उत्तम हुने उल्लेख गर्नुभयो । नाफाका पूर्व कुलपति किरण मानन्धरले श्रेष्ठका चित्रकोबारेमा चर्चा गर्दै देशमा शान्तिको आवश्यकता झल्किएको, अहङ्कार, पीडा, समाजका विकृतिको झल्को चित्रकारले चित्रमा उतारेको बताउनुभयो ।चित्रकार श्रेष्ठले प्रदर्शनीमा बिक्री भएका चित्रबाट उठेको रकम रोटरी क्लब अफ न्युरोडले सञ्चालन गरेको बालबालिकाको शिक्षाका लागि प्रदान गर्ने बताउनुभयो । नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी यही आगामी भदौ ३० गतेसम्म चल्नेछ । रासस