भाद्र ३० गते शनिवार कपन संगीत सरोवरको ७१ औं नियमित कार्यक्रम

कपनमा नियमितरुपमा आफ्नो कार्यक्रम संचालन गर्ने सामाजिक संस्थाहरुमध्ये कपन संगीत सरोवर अग्रणी संस्था हो । विशेषगरी भक्ति तथा शास्त्रीय संगीतका क्षेत्रमा नियमित रुपमा हरेक महिनाको अन्तिम शनिवार कपन संगीत सरोवरले आफ्नो कार्यक्रम प्रस्तुत गर्ने गर्दछ । कपनस्थित बगलामुखी मन्दिरको परिसरमा आयोजना हुने कार्यक्रममा हरेक महिना स्थानीय साथै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका कलाकारहरुले आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्छन् ।

कपन संगीत सरोवरले हरेक वर्ष कार्तिकमा आफ्नो वार्षिकोत्सवको अवसर पारेर शास्त्रीय वा भक्ति संगीतका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने गरेको छ । यस सम्मानमा रु. १०,००० नगदसहित सम्मान पत्र हुने गर्दछ । यस संस्थाले बेलाबेलामा शास्त्रीय संगीतका क्षेत्रका विभिन्न विधाहरुमा पुरस्कार राशीसहितको प्रतियोगिता र निःशुल्क वादन शिविरसमेत संचालन गर्दै आइरहेको छ । कपन संगीत सरोवरको कार्यक्रम आयोजनास्थल निर्माणको लागि कपन गाविसले यो वर्ष रु. १ लाख प्रदान गरेको छ ।

६ वर्ष अघि स्थापित यो संस्थाले नियमितरुपमा ७० श्रृंखला प्रस्तुत गरिसकेको छ भने अतिरिक्त विभिन्न धार्मिक अवसर तथा महत्वपूर्ण अवसरमा पनि आफ्नो कार्यक्रम प्रस्तुत गरेको छ । प्रारम्भमा यस संस्थाले कपन १ स्थित सोमनाथ शिव मन्दिरको प्रांगणमा रहेका कपन उसु क्वानमा आफ्नो कार्यक्रम प्रस्तुत गर्दथ्यो भने गएको डेढ वर्षदेखि कपन २ स्थित बगलामुखी मन्दिरमा आफ्नो महत्वपूर्ण कार्यक्रम प्रस्तुत गर्न थालेको हो । यस संस्थाका अध्यक्ष विसु कुमार के.सी हुन् भने संगीत संयोजकको रुपमा विनय वर्मा सक्रिय छन् । त्यसैगरी संगीतका क्षेत्रमा परशुराम पौडेल, शशिविक्रम थापा, रामसुन्दर अधिकारी, सुजाता वर्मा, विराज पोखरेललगायत कपनवासी कलाकर्मीहरु कपन संगीत सरोवरलाई अघि बढाउन सक्रिय छन् ।

यो महिनाको कार्यक्रम भाद्र ३० गते शनिवार साँझ ५ः०० बजे बगलामुखी मन्दिरमा आयोजना हुनेछ । यस कार्यक्रममा द हेरिटेज व्याण्डको महत्वपूर्ण प्रस्तुतिसाथमा राष्ट्रिय कलाकारहरुबाट भक्ति संगीतको प्रस्तुती रहनेछ ।

नियमितरुपमा संगीतको क्षेत्रमा कार्य गर्ने कपन संगीत सरोवरलाई कपन अनलाइन अझ उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छ ।

तपाइँको प्रतिक्रिया ।